
२९ भदौ, डुनबेग (आयरल्यान्ड) (रासस/एएनआई)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी आयरल्यान्ड र आयरल्यान्ड गणतन्त्रको एकीकरणको समर्थन गर्दै ती दुवै भूभाग एउटै राजनीतिक अस्तित्वमा रहनु स्वाभाविक रहेको बताएका छन्। उनको अभिव्यक्तिले उत्तरी आयरल्यान्डको संवैधानिक भविष्य विषयक संवेदनशील बहसलाई पुनः तातो बनाएको छ। डुनबेगस्थित आफ्नो गल्फ कोर्समा आइतबार आइरिस ओपन प्रतियोगितामा सहभागी रहँदासमेत उनले यस्तै धारणा प्रस्तुत गरेका हुन्। यसअघि शनिबार उनले आयरल्यान्डको एकीकरणको सम्भावनालाई ‘उत्कृष्ट’ भनेका थिए।
आयरल्यान्डका प्रधानमन्त्री मिचेल मार्टिनले भने यस विषयमा शान्त र संयमित दृष्टिकोण अपनाउन आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पले आफ्ना विचार व्यक्तिगत राय भएको स्पष्ट पार्दै त्यसलाई व्यापक समर्थन प्राप्त भएको दाबी गरेका छन्। आयरल्यान्डको विभाजनपछि उत्तरी आयरल्यान्डका छ काउन्टी संयुक्त अधिराज्यमै रहेका छन्। एकीकरण समर्थक राष्ट्रवादी र बेलायतमै रहन चाहने युनियनवादीबीचको विभाजनले सन् १९६० को दशकको अन्त्यदेखि लामो दशकसम्म हिंसा निम्त्याएको थियो। ‘द ट्रबल्स’ भनिने उक्त द्वन्द्वमा करिब तीन हजार छ सय व्यक्तिको मृत्यु भएको थियो।
सन् १९९८ को गुड फ्राइडे सम्झौताले हिंसा अन्त्य गर्दै उत्तरी आयरल्यान्डको संवैधानिक भविष्य जनताको इच्छामा निर्भर गर्ने व्यवस्था गरेको छ। सम्झौताअनुसार एकीकरणको पक्षमा बहुमत पुग्ने स्पष्ट आधार देखिएमा जनमतसङ्ग्रह गर्न सकिने छ। बेलायत सरकारले भने त्यस्तो मतदानका लागि आवश्यक अवस्था अझै बनेको छैन भनेको छ। उत्तरी आयरल्यान्डका डेमोक्रेटिक युनियनिस्ट पार्टीका नेता गेभिन रोबिन्सनले राष्ट्रपति ट्रम्पको टिप्पणीको आलोचना गर्दै संवैधानिक भविष्य त्यस क्षेत्रका जनताले नै निर्धारण गर्ने बताएका छन्। ब्रिटिश सरकारले पनि गुड फ्राइडे सम्झौताप्रतिको आफ्नो समर्थन दोहोर्याउँदै जनमतसङ्ग्रहका लागि आवश्यक परिस्थितिमा मात्रै विचार गरिने जनाएको छ।





