
अमेरिकाले पृथ्वीको कक्षमा ‘अन्तरिक्ष हतियार’ तैनाथ गरेको तथ्य सार्वजनिक गरेको छ। यो आक्रमक क्षमता खुलस्त रूपमा स्वीकार्ने अमेरिकी इतिहासमा पहिलो अवसर हो। अमेरिकी वायुसेनाका सचिव ट्रोय मेइङ्कले शत्रुहरूको निगरानी गर्न यस्ता हतियार अत्यावश्यक रहेको बताए। सोम्बार आयोजित वायु, अन्तरिक्ष तथा साइबर सम्मेलनमा मेइङ्कले अमेरिका ‘बदलिंदो खतराहरू’ सामना गर्न पूर्णतया तयार रहेको स्पष्ट पारे। तथापि, उनले सो हतियारको क्षमताबारे वा कहिले अन्तरिक्षमा तैनाथ गरिएको हो भनी कुनै विस्तृत जानकारी दिएनन्।
अमेरिकी उच्च सैन्य अधिकारीहरूले पहिले पनि अन्तरिक्षमा आफ्नो सैन्य क्षमता विस्तार गर्ने योजनाबारे संकेत गरिसकेका थिए। तिनीहरूले आगामी सम्भावित द्वन्द्वहरूमा अमेरिकाका भू-उपग्रहहरूमा आक्रमण हुन सक्ने खतरा तथा त्यसमा अवरोध पुर्याउने क्षमता विकास गरिरहेको चीन र रूसका कार्यक्रमलाई यस विस्तारको मुख्य कारणको रूपमा उजागर गरेका छन्। मंगलबार चीनले अन्तरिक्षमा ‘हतियारको प्रतिस्पर्धा’ बढाउन नदिन चेतावनी दिँदै अमेरिकाको घोषणाप्रति कडा प्रतिक्रिया जनाएको छ। एएफपीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामी अमेरिकी पक्षलाई आफ्नो सैन्य क्षमता विस्तार रोक्न र अन्तरिक्षमा युद्धको तयारी बन्द गर्न अनुरोध गर्छौं।’
अमेरिकी अधिकारीहरूले सो हतियारको कार्यप्रणालीबारे केहि खुलासा गरेका छैनन्। अमेरिकी स्पेस फोर्सका एक प्रवक्ताले भने, ‘स्पेस कन्ट्रोलअन्तर्गत अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा गर्ने र नियन्त्रण कायम राख्ने विभिन्न अभियानहरू पर्ने गर्दछ। यसमा विरोधी क्षमतामा अवरोध सिर्जना गर्ने, तिनलाई कमजोर बनाउने र आवश्यक परे नष्ट गर्ने कार्यहरू समावेश हुन्छन्।’ उनले बताए, यी क्षमताहरू लडाकु कमान्डको निर्देशनमा आक्रामक तथा रक्षात्मक दुवै उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ।





