
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा संशोधनसम्बन्धी प्रकरणमा सर्वोच्च अदालतमा बहस सम्पन्न भएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा बहस गरिएको थियो। निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्धका मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। १५ चैत, काठमाडौं।
आज सुरुमा लामिछानेको तर्फबाट पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए। उनको बहसपछि निवेदकपक्षको जवाफी बहस राखिएको थियो। ‘बहस सकियो, न्यायाधीशहरू छलफलमा हुनुहुन्छ,’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका थिए। गत पुस ३० गते भण्डारीले लामिछानेमाथि सहकारी ठगीको मुद्दा मात्रै चलाउन सम्बद्ध जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन्।






