Skip to main content

साउदी अरबमा मृत्युदण्ड: परिवारहरूले आफन्तको शव नपाई भोगिरहेको पीडा

“हामीले परिवारलाई सांत्वना दिन र उनको मृत्युलाई स्वीकार गर्न सजिलो होस् भनेर सबै कर्महरू गर्यौँ, तर यसले मलाई शान्ति दिने छैन,” छोरा किब्रोमको मृत्युमा शोक मनाइरहेका किन्फे अरेगावी भन्छन्। “यो पछुतो र दुःख मेरो जीवनभरि रहिरहने छ।” किब्रोम किन्फे अरेगावी यो वर्ष जुन महिनामा गाँजा तस्करीको आरोपमा साउदी अरबमा मृत्युदण्ड दिइएका पाँच इथियोपियालीमध्ये एक थिए। विश्वका धेरै मृत्युदण्ड दिने देशहरूमध्ये चीन र इरानपछि साउदी अरब सँगै रहेको छ। अन्तर्राष्ट्रिय मानव अधिकार संगठन ह्यूमन राइट्स वाचका अनुसार साउदी अरबले यो वर्ष जुलाई २७ सम्ममा ११६ जनालाई मृत्युदण्ड दिइसकेको छ।

“परिवारलाई नै दण्ड?” इथियोपियाका अर्थोडक्स इसाईहरूको धार्मिक परम्परामा शरीरलाई आश्रयस्थलमा गाड्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ, जहाँ शवलाई कात्रोमा ओढाएर काठको कफिनमा राखिन्छ। तर २५ वर्षीय किब्रोम किन्फे अरेगावीको शव घर पुगेको छैन, जसले गर्दा यी धार्मिक कर्म गर्न सकेको छैन। “शव फिर्ता गर्न अस्वीकृत गर्नु प्रशासनिक विषय मात्र होइन। यसको अर्थ व्यक्तिलाई मात्र होइन, उनका परिवारलाई समेत दण्डित गरिरहेका हो,” युरोपेली साउदी मानवअधिकार संगठन (ईएसओएचआर) का वरिष्ठ अनुसन्धानकर्ता दुआ जैनी भन्छिन्।

संयुक्त राष्ट्रसंघकी धार्मिक स्वतन्त्रता विषयकी विशेष प्रतिवेदक नाजिला गानिआ साउदी अरबको शव नरोक्ने अभ्यासलाई “यातना र दुर्व्यवहार”को रूपमा वर्णन गर्छिन्। मृत्युदण्ड पाएका पाँच इथियोपियालीहरूलाई न त कुनै पूर्व चेतावनी दिइएको थियो न त व्यक्तिगत सामान परिवारलाई फिर्ता गरिएको थियो। मृत्युदण्डको प्रमाणपत्र पनि परिवारलाई दिइएको थिएन।

किब्रोम किन्फे अरेगावी सन् २०२० मा पहिलो पटक आफ्ना बुबा (किन्फे) सँग गैरकानुनी भिसामा साउदी अरब पुगेका थिए। उनीहरू पक्राउ परे, १५ महिना जेल बसे, अनि देश निकाला गरिए। तर इथियोपियाको गृहयुद्धका कारण किब्रोम फेरि साउदी अरब फर्कनुपर्यो। उनले रेड सि पार गरी पैदल यमन जानको लागि मानिसले भरिएको डुङ्गामा चढे। सन् २०२३ मा सीमापार गर्दै गर्दा उनले साउदी अधिकारीको पकडमा परेका थिए र लागुऔषध तस्करीको आरोपमा पक्राउ परेका थिए। किन्फेका अनुसार तीन महिना जेल बसेपछि मृत्युदण्ड दिइयो। तीन वर्ष जेलमा बिताएपछि जून महिनामा मृत्युदण्ड सुनाइयो। “उनी हामीसँग कुरा गर्न पाएनन्। म सामाजिक सञ्जालबाट उनको मृत्यु थाहा पाएँ,” उनले भने।

किन्फेको विश्वास छ कि उनका छोरालाई गलत आरोप लगाइएको छ। “मेरो छोरा गाँजा तस्करीमा संलग्न थिए भन्ने कुनै प्रमाण छैन,” किन्फे भन्छन्। त्यही दिन र त्यही जेलमा सिगाबु गेब्रेमारिअमलाई पनि समान आरोपमा दोषी ठहर गरी मृत्युदण्ड दिइयो। छब्बीस वर्षीय गेब्रेमारिअम इथियोपियाको मध्यटिग्रे क्षेत्रका ग्रामीण थिए। उनी आफ्नो परिवारका आठ सन्तानमध्ये जेठा थिए। उनका बुबा हागोस गेब्रेमेस्केलका अनुसार घर छोडेर उनी १८ वर्षमै साउदी अरब गएका थिए, जहाँ बेरोजगारी र गृहयुद्धबाट बच्ने प्रयास गरे। “हाम्रो क्षेत्रमा युवाहरूका लागि काम कम छ। ऊ मलाई सहयोग गर्ने आशामा साउदी अरब गयो,” हागोस भन्छन्।

“ऊ चाँडै घर फर्कने र विवाह गर्ने योजना बनाएको थियो,” उनले बीबीसीलाई बताए। उनकी आमा लेटेक्रिस्टोस गेब्रेत्सादिक उनका लागि विवाह साथी खोज्दै थिइन्, तर अन्ततः अन्तिम संस्कारको तयारी गर्नुपर्यो। “मेरो सबै छोरीहरू छन्, ऊ एक मात्र छोरा थियो। मेरा छोरीहरू उ आशावादी थिए कि उनी चाँडै फर्कनेछन्। उनीहरू उनको बिहेको तयारी गरिरहेका थिए। तिनीहरूको दुःख मेरोभन्दा ठूलो छ,” उनी भन्छिन्।

सिगाबुको मृत्युदण्डबारे थाहा पाएपछि उनको अर्थोडक्स इसाई परिवारले स्थानीय चर्चमा प्रतीकात्मक अन्तिम संस्कार गरेको छ। “उनको शव किन घर आइपुगेको छैन भनेर म जान्न चाहन्छु,” लेटेक्रिस्टोस भन्छिन्। सिगाबुका आमाबुवाले दोष प्रमाणित गर्न साउदी अधिकारीलाई आग्रह गरेका छन्। उनीहरूले आफ्ना छोरालाई फसाएर फाइदा उठाउने आशंका पनि गरेको बताए। मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेशनलको गत वर्षको प्रतिवेदन अनुसार, साउदी अरबमा लागुऔषधसम्बन्धी अपराधमा मृत्युदण्ड पाएका ७५ प्रतिशत विदेशी नागरिक हुन्।

एक जना मानवअधिकारकर्मी जैनी भन्छिन्, “आपराधिक गिरोहले कमजोर मान्छेको शोषण गर्छन्। इथियोपियालीहरूसँग सम्बन्धित केही घटनामा बन्दीहरूलाई सीमापार गराउन सहयोगका बदला कब्जा गराउने काम गराइन्छ। पाकिस्तानीहरूसँग सम्बन्धित केही घटनामा भने दबाब राखेर वा रोजगारीको वाचा गरेर प्रतिबन्धित सामान बोकाउँने गरिन्छ।” कानुन त छ तर … ईएसओएचआरको अनुमान अनुसार राजा सलमान बिन अब्दुलअजीज अल साउद सन् २०१५ मा राजगद्दीमा बस्दा देखि साउदी अरबमा मृत्युदण्ड पाएका व्यक्तिको संख्या २,००० भन्दा बढी छ, जसमा ४२ प्रतिशत विदेशी थिए। सन् २०२५ मा मात्र साउदीले ३५६ जनालाई मृत्युदण्ड दिएको थियो, जुन एक वर्षमा सर्वाधिक संख्या हो।

साउदी कानूनले अधिकारीलाई राजदूतावास खर्चमा शव फिर्ता पठाउने अनुमति दिन्छ तर जैनी भन्छिन् यस्तो कहिल्यै हुँदैन। “मृत्युदण्डपछि कुनै पनि बन्दीको शव परिवारलाई फिर्ता गरिएको कुनै पनि घटना हामीलार्ह थाहा छैन। साउदी नागरिकसँग सम्बन्धित मुद्दाहरूमा पनि त्यस्तै भयो,” उनले भनिन्। टर्की र जोर्डनजस्ता देशका परिवारहरूले कैदीहरूको शव फिर्ता मागेर अभियान चलाए तर सफल भएनन्।

गाँजा तस्करीमा दोषी ठहरिएको साउदी नागरिकलाई मृत्युदण्डको घोषणा गर्दै गृह मन्त्रालयले कुरानका श्लोक उद्धृत गरेको थियो, जसमा पृथ्वीमा भ्रष्टाचार फैलाउनेलाई कडा सजाय दिन भनिएको थियो। सरकारले नागरिक र बासिन्दालाई लागुपदार्थबाट जोगाउन प्रतिबद्धता जनाएको छ। यसै गरी तस्कर र अवैध कारोबारका विरुद्ध कडा सजाय दिने प्रतिवद्धता पनि जनाएको छ। साउदी अरबस्थित इथियोपियाली दूतावासलाई पनि प्रतिक्रिया मागिएको छ। साउदी हाल मृत्युदण्ड पर्खाइमा रहेका कैदीको संख्या सार्वजनिक गर्दैन, तर मानवअधिकारकर्मीहरू अनुमान गर्छन् त्यो सयौँ हुन सक्छ। ह्यूमन राइट्स वाचकी मध्यपूर्व र उत्तर अफ्रिका डिभिजनकी अनुसन्धानकर्ता जोय शिया भन्छिन्, “साउदी अरेबियामा मृत्युदण्ड गोप्य तरिकाले, पूर्वसूचनाविना दिइन्छ। यसले कैदी र उनका परिवारलाई मृत्युदण्डको सामना गर्न तयार हुन पर्याप्त समय नदिन्छ। यसले तिनको अधिकार हानि गर्छ।”

“चमत्कारका लागि प्रार्थना गर्दै” मृत्युदण्ड पाएका कैदीहरूको गोपनीयता उनलाई अझ कठिन अवस्थामा पार्छ। एक कैदीले आफ्नो जेल जीवनबारे बीबीसीलाई सुनाए, जसको सुरक्षा कारणले पहिचान गोप्य राखिएको छ। उनलाई सन् २०२३ मा पक्राउ गरिएको थियो र लागुऔषध तस्करीमा दोषी पाइएको थियो। उनले सजाय स्वीकार गरे तर माफीको आशा राख्छन्। यो वर्ष उनका कैदी साथी १५ जनालाई मृत्युदण्ड दिइएको देखेका छन्। उनलाई आफूलाई पनि मृत्युदण्ड दिन सक्ने डर छ। “हरेक पटक जब गार्डले ढोका खोल्छन् म सोच्दछु अब कसको पालो होला,” उनले भने। उनी चमत्कारको आशा राख्छन् र केही राहतको कामना गर्छन्। तर सबैभन्दा नराम्रो भयो भने आफ्नो अवशेष घर पुर्याइयोस् भन्ने इच्छा पनि राख्छन्। “म डराउँछु मेरा आमाबुवाले मेरो शव पनि देख्न पाउँदैनन्,” उनी भन्छन्।