
श्रीलंकाका चरिथ असलंका विराटनगर किङ्सबाट नेपाल प्रिमियर लिगमा खेल्न सुरु
समाचार सारांश: श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किङ्ससँग आबद्ध भएका छन्। विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत असलंकालाई आफ्नो विदेशी खेलाडीको रूपमा घोषणा गरेको छ। असलंकाले श्रीलंकाका लागि ७७ टी–२० अन्तर्राष्ट्रिय खेलमा १,४६६ रन र ७ विकेट लिएका छन्। १ असोज, काठमाडौं।
श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न विराटनगर किङ्स टिममा सामेल भएका छन्। विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत श्रीलंकाली स्टारलाई आफ्नो विदेशी खेलाडीको रूपमा सार्वजनिक गरेको हो। असलंका बायाँहातको ब्याटिङ र दायाँहातको अफब्रेक बलिङमा दक्ष छन्। २९ वर्षे असलंकाले अहिलेसम्म श्रीलंकाका लागि ७७ टी–२० अन्तर्राष्ट्रीय खेल खेलेर १,४६६ रन जोडिसकेका छन्। उनले ती खेलमा ७ विकेट पनि हात पारेका छन्।
उनको कुल टी–२० क्रिकेट करिअर अझ प्रभावशाली छ। असलंकाले १८५ खेलमा ३,७१५ रन बनाईसकेका छन् र ३७ विकेट समेत लिएका छन्। उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र यूएईको इन्टरनेशनल लिग टी–२० जस्ता प्रतिष्ठित फ्रेन्चाइजहरूमा पनि खेलिसकेका छन्। “विराटनगर किङ्ससँग मिलेर उत्कृष्ट प्रदर्शन गर्ने, टोलीका लागि मेरो अनुभव र क्षमता उपयोग गर्ने तथा समर्थकहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्ने मेरो लक्ष्य हुनेछ। एनपीएलमा नयाँ चुनौती र नयाँ वातावरणमा खेल्नु मेरो लागि विशेष अनुभव हो। विराटनगर किङ्सको परिवारमा सामेल हुन पाउँदा म गर्व र उत्साहित छु,” असलंकाले भने। यसअघि विराटनगरले दोस्रो संस्करणमा फाफ डुप्लेसीलाई पनि समावेश गरेको थियो।