
नेपालका होरा र टीटुके पब्जी मोबाइल ग्लोबल ओपनमा छनोट भए
काठमाडौंमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपनको साउथ एसिया फाइनलबाट होरा ईस्पोर्ट्स र टीटुके ईस्पोर्ट्स शीर्ष ३ भित्र पर्दै छनोट भएका छन्। पाकिस्तानको फोर थ्राइभ्स ईस्पोर्ट्सले २०९ अंकसहित उपाधि जितेको छ। नेपालका हिडन लिफ ईस्पोर्ट्स चौथो र टीजीबी आठौं स्थानमा रह्यो। ३ असोज, काठमाडौं। नेपालका दुई ईस्पोर्ट्स टिम होरा ईस्पोर्ट्स र टीटुके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनका लागि छनोट भएका छन्। काठमाडौंमा शनिबार सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपनको साउथ एसिया फाइनलबाट शीर्ष ३ भित्र पर्दै दुई टोली छनोट भएका हुन्। उपाधि भने पाकिस्तानको फोर थ्राइभ्स (फोटी) ईस्पोर्ट्सले जित्यो। फोर थ्राइभ्सले २०९ अंकसहित शीर्षमा रहेर उपाधि जितेको हो। उपाधिसँगै फोटीले ९ हजार डलर पुरस्कार जित्यो। टीटुके दोस्रो हुँदा होरा तेस्रो बन्यो। नेपालकै हिडन लिफ ईस्पोर्ट्स टिम भने चौथो स्थानमा रह्यो। नेपालको अर्को टोली टीजीबी आठौं स्थानमा रह्यो। फोटीका हुजाइफा सर्वोत्कृष्ट खेलाडी घोषित भए।