
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गर्दै राजनीतिक प्रतिवाद गर्ने बताएका थिए। कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि कांग्रेसले खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्नेबारे छलफल गरेको थियो।
१६ चैत, काठमाडौं। खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्। सभापति शेरबहादुर देउवानिकट एक नेताले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिएका छन्। निवर्तमान कार्यवाहक सभापति खड्कानिकट स्रोतले पनि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको पुष्टि गरेको छ।
स्रोतका अनुसार धुम्बाराहीको एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म बैठक बस्ने छ। १४ औं महाधिवेशनबाट निर्वाचित एक केन्द्रीय सदस्यले पनि तत्कालीन केन्द्रीय कार्यसमिति बैठकका लागि आफूलाई खबर आएको बताएका छन्। खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन्।
यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूलाई बोलाएर ठमेलमा छलफल गरेका थिए। छलफलपछि उनले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए। खड्काले आगामी दिनमा आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहनसमेत अपिल गरेका थिए।






