सर्वोच्च अदालतले रमेश लेखकको रिहाइको माग गरिएको रिटमा कारण देखाऊ आदेश दियो

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाऊ आदेश दिएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरिएको यस्तै निवेदनमा भने निर्णय आउन बाँकी छ। सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले भने, “एउटा निवेदनमा कारण देखाऊ आदेश आएको छ। अर्कोमा पनि आजै आदेश आउँछ।” पूर्वगृहमन्त्री लेखकबारेको बन्दी प्रत्यक्षीकरणमा दिइएको कारण देखाऊ आदेशबारे उनले थपे, “कारण देखाऊ आदेश जारी भएसँगै अब यो मुद्दाको सुनुवाइ संयुक्त इजलासमा हुन्छ।”
पूर्वगृहमन्त्री लेखकका हकमा उनकी पत्नी यशोदा लेखकले दायर गरेको निवेदनमा न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको थियो। पूर्वप्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यद्वारा दायर निवेदनमाथि सोमवार न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ सकिएको अदालतले जनाएको छ। दुवै निवेदनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहितलाई विपक्षी बनाइएको थियो। भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको कारबाही सिफारिसका आधारमा सरकारले शनिवार बिहानै ओली र लेखकलाई पक्राउ गरेको थियो।
आइतवार काठमाण्डू जिल्ला अदालतले दुवै नेतालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। ओली र लेखकको गिरफ्तारी कानुनविपरीत भएको धारणा उनीहरूका कानुन व्यवसायीहरूले राख्दै आएका छन्। साथै, दुवै नेताका पत्नीहरूले आइतवार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। आफ्ना अध्यक्ष पक्राउ परेसँगै नेकपा एमालेले प्रतिशोध साँधिएको भन्दै देशव्यापी प्रदर्शनहरू गरिरहेको छ।






