
दशौं राष्ट्रिय खेलकुद उत्सव आजदेखि शुरू : खेलकुद मन्त्री पोखरेल
१८ असोज, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वास व्यक्त गरेका छन् कि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निश्चित रूपमा सञ्चालन गरिने छ । दशौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना समिति आइतबार सुर्खेतमा आयोजित बैठकमा मन्त्री पोखरेलले जानकारी दिएका छन् कि उक्त प्रतियोगिता उत्सव आजैबाट शुरू भइसकेको छ । ‘अहिलेसम्म केही शंका छ कि दशौं राष्ट्रिय खेलकुद हुने या नहुने भन्ने विषयमा । पटकपटक मिति सरेका कारण शंका हुनु स्वाभाविक हो,’ उनले भने, ‘तर दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट शुरू भइसकेको छ, प्रतियोगिता भने मंसिर १६ गतेबाट शुरू हुने छ । त्यसैले प्रतियोगिता हुने या नहुनेमा कसैले पनि कुनै द्विविधा नलिनुहोला ।’ मन्त्री पोखरेलले विगतका राष्ट्रिय खेलकुदहरूको तुलनामा यस पटकको प्रतियोगिता अझ प्रभावकारी र व्यवस्थित हुने आशा व्यक्त गरे । ‘९ वटा राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएका छन् । यस पटक कसरी भिन्न र प्रभावकारी तरिकाले सञ्चालन गर्ने भन्ने विषयमा सम्पूर्ण सरोकारवाला तथा विभिन्न तहका सरकारहरू सबै मिलेर काम गर्नुपर्ने अवस्था छ,’ उनले थपे ।
