Skip to main content
Advertisementxtreme adv

अत्यधिक तापक्रमले गर्भवती तथा नवजात शिशुहरूको स्वास्थ्य जोखिममा वृद्धिदेखाउ

१९ असोज, नाडी (फिजी) (रासस/एएफपी)। जलवायु परिवर्तनका कारण बारम्बार हुने अत्यधिक तापक्रमले गर्भवती महिला र नवजात शिशुहरूको स्वास्थ्यमा गम्भीर जोखिम थपिएको संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिएका छन्। फिजीको नाडीमा आयोजना हुन लागेको ‘प्रि–कोप’ शिखर सम्मेलनमा उनले अत्याधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्म, कम जन्मतौल र मातृत्वसम्बन्धी जटिलता बढिरहेको स्थिति प्रस्तुत गर्ने छन्।

पाँच महाद्वीपका स्वास्थ्यकर्मीहरू माझ गरिएको नयाँ सर्वेक्षणलाई उद्धृत गर्दै स्टिलले पछिल्ला पाँच वर्षमा दुई तिहाइभन्दा बढी स्वास्थ्यकर्मीले अत्याधिक गर्मीले गर्भवती महिला र नवजात शिशुहरूमा जटिलता देखा परेको बताए। वेलकम फाउन्डेसनले बेलायत, अस्ट्रेलिया, भारत, ब्राजिल र जिम्बाब्वेका एक हजार प्रसूति स्वास्थ्यकर्मी तथा चिकित्सकहरू माझ गरेको सर्वेक्षणमा लगभग सबैले गर्मी सम्बन्धी समस्याका कारण आमा वा शिशुको उपचार गरेको उल्लेख गरेका छन्।

फाउन्डेसनकी अध्यक्ष तथा अस्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्डले जलवायु परिवर्तनले आमा र बच्चालाई बढ्दो खतरा पुर्‍याएको बताइन्। उनले अत्याधिक गर्मीलाई ‘अदृश्य हत्यारा’ को संज्ञा दिँदै आवश्यक प्रमाण र समाधानहरू उपलब्ध भएकाले नेताहरूले तत्काल कदम चाल्नुपर्ने जोड दिइन्। वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावले चरम मौसम र तापक्रमका नयाँ रेकर्डहरू कायम हुँदै गइरहेको चेतावनी दिएका छन्। एएफपीका अनुसार यस वर्ष पश्चिमी युरोपदेखि साहेल क्षेत्र र मध्य अमेरिकासम्म करिब ३३ देशमा जुलाई महिनाको तापक्रम इतिहासमै सबैभन्दा उच्च भएका थिए।

फिजीमा भइरहेको प्रि–कोप ३१ तथा टुभालुको बैठकलाई प्रशान्त क्षेत्रीय नेताहरूले जलवायु परिवर्तनबाट प्रभावित समुदायका समस्या विश्वसामु उठाउने अवसरका रूपमा लिइरहेका छन्। यी बैठकहरू अर्को महिनामा टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को तयारीका रूपमा भइरहेका छन्।