Skip to main content

डिजेलको मूल्य घटाउन ट्रम्पले जारी गरे नयाँ कार्यकारी आदेश

२० असोज, वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढिरहेको डिजेलको मूल्य नियन्त्रण गर्न ‘रेड–डाइड डिजेल’ (रातो रंगको डिजेल) सवारी साधनमा पनि कर छुट दिइने नयाँ व्यवस्था गरेका छन् । ट्रम्पले सोमबार राति कार्यकारी आदेशमा हस्ताक्षर गरी यस्तो निर्णय गरेका हुन् । आदेश अनुसार ‘अफ–रोड’ प्रयोगका लागि दिइएको कर छुट युक्त रातो डिजेललाई अस्थायी रूपमा राजमार्गमा चल्ने सवारीसाधनहरूमा प्रयोग गर्न अनुमति दिइनेछ। अमेरिकामा रातो रंगको डिजेल र सामान्य डिजेलको इन्धन गुणस्तर समान भएपनि रातो डिजेलमा संघीय इन्धन कर लाग्दैन । यो डिजेल मुख्यतः ट्याक्टर, निर्माण उपकरण र अन्य अफ–रोड प्रयोजनका लागि प्रयोग हुन्छ । नेब्रास्कामा चुनावी कार्यक्रममा ट्रम्पले यो निर्णयले ट्रक चालक, किसान र आम उपभोक्तालाई आर्थिक राहत दिने बताए । कर छुटको डिजेल प्रयोग विस्तार हुँदा खाद्यान्नसहितका विभिन्न वस्तुहरूको ढुवानी लागतमा पनि कटौती आउने उनको दाबी छ ।

अमेरिकामा सडकमा चल्ने डिजेलमा प्रति ग्यालन २४.४ सेन्ट संघीय कर लाग्छ । यसका साथै राज्य अनुसार पनि कर थपिन्छ, जसको औसत ३५.५ सेन्ट प्रति ग्यालन रहेको संघीय तथ्यांक छ । डिजेलको मूल्य पछिल्लो समय अत्यधिक वृद्धि भएको छ । एएएका अनुसार, इरान युद्ध सुरु हुनु अघि डिजेलको मूल्य प्रति ग्यालन ३.७६ डलर थियो भने सेप्टेम्बर २२ मा यो ६.५३ डलरसम्म पुगेको थियो । सोमबार यसको राष्ट्रिय औसत ६.३२ डलर प्रति ग्यालन थियो । १८ पांग्रे ट्रकमा २५० ग्यालन डिजेल भर्दा करिब १ हजार ५७५ डलर खर्च हुन्छ । कर मुक्त डिजेल प्रयोग गर्न पाइएमा करिब १५० डलरसम्म बचत सम्भव छ । यसअघि टेक्सास, ओक्लाहोमा र अलाबामा लगायत १० वटा राज्यले राजमार्गमा चल्ने सवारीमा कर छुटको डिजेल प्रयोगलाई सहज बनाउने कदम चालेका छन् । सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म लागू गरिएको यो कदमले उक्त १० राज्यमा अमेरिकाको कुल डिजेल बिक्रीको करिब एक तिहाइ हिस्सा कभर गर्ने बताइएको छ ।

यद्यपि इन्धन बजारका विश्लेषकहरूले ट्रम्पको निर्णयले डिजेलको मूल समस्या समाधान नहुने बताएका छन् । ‘कार्यान्वयन जटिल छ’ ग्यासबडीका पेट्रोलियम विश्लेषक प्याट्रिक डी हानका अनुसार कर छुट युक्त डिजेलको पहुँच विस्तार सहज छैन किनभने ट्रकहरू विभिन्न राज्यहरु हुँदै गुड्ने भएकाले राज्य अनुसारको फरक नियमले कार्यान्वयन जटिल बनाउनेछ । ‘यो पटकपटकको समस्या समाधान होइन,’ डी हानले भने, ‘तर राजनीतिज्ञहरूका लागि केही उपलब्धि देखाउने अवसर दिन सक्छ ।’ अमेरिकामा डिजेलको मूल्य यस वर्ष करिब ७७ प्रतिशतले वृद्धि भएको छ । हालै मूल्यमा २० सेन्टले केही कमी आएको भएपनि यो सन् २००० देखि एएएका तथ्यांक राख्न थालेयता सबैभन्दा ठूलो वार्षिक मूल्य वृद्धि हुने दिशामा छ । विश्लेषकहरूका अनुसार डिजेल मूल्यवृद्धिको मुख्य कारण कर नभई विश्वव्यापी रिफायनरी अभाव हो । मध्यपूर्व र रूसका रिफायनरीहरूमा युद्धका कारण क्षति पुगेका छन् भने चीनले आन्तरिक बजारमा इन्धन अभाव हुन नदिन निर्यात कम गरेको छ । अमेरिकी रिफायनरीहरूले विश्व बजारमा देखिएको अभाव पूर्ति गर्न प्रयासरत छन् । तर ती रिफायनरीहरू उच्च क्षमतामा चलिरहेका कारण तत्काल उत्पादन वृद्धि गर्न सक्ने अवस्था छैन । लिपोव आयल एसोसिएट्सका अध्यक्ष एन्डी लिपोवले कर हटाउँदा छोटो अवधिमा उपभोक्तालाई राहत मिल्ने भएपनि इन्धन अभावको समस्या सम्पूर्णरूपमा समाधान नहुने बताएका छन् । यसै बीच युक्रेनले रुसी तेल रिफायनरीमाथिको आक्रमण तीव्र पार्ने सङ्केत दिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तेल प्रशोधन संरचनामाथिको आक्रमण निरन्तर जारी राख्ने बताएका छन् । यसले विश्व बजारमा डिजेल र अन्य पेट्रोलियम पदार्थको आपूर्तिमा थप दबाब थप्न सक्ने देखिएको छ । ट्रम्पले भने डिजेलको मूल्य चाँडै घट्ने दाबी गरेका छन् । कार्यकारी आदेश कति समयसम्म लागू रहने भन्ने कुरा स्पष्ट छैन, तर उनले लामो समयसम्म थप आवश्यक नपर्ने आशा व्यक्त गरेका छन् ।