Skip to main content

अमेरिकाको नर्थ क्यारोलिनामा आरटीपी दशैं कप उद्घाटन

२० असोज, सुनसरी। अमेरिकाको नर्थ क्यारोलिनास्थित एपेक्स नेचर पार्क स्टेडियममा आरटीपी दशैं खसी कप फुटबल प्रतियोगिता सुरु भएको छ। लामो समयदेखि अमेरिकामा बसोबास गरिरहेका नेपाली समुदायको पहलमा दशैं–तिहारको पूर्वसन्ध्यामा यो प्रतियोगिता आयोजना गरिएको हो। एपेक्स नेचर पार्क स्टेडियममा प्रत्येक हप्तान्त खेल हुने गरी प्रतियोगिता एक महिनासम्म सञ्चालन हुनेछ, आयोजक समितिका सदस्य टंक सेलिङले जानकारी दिए।

आरटीपी दशैं खसी कप विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ, जसले अमेरिकामा रहेका नेपालीबीच एकता, आपसी भाइचारा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्य राख्दछ। सेलिङले भने, “मातृभूमिभन्दा धेरै टाढाको मुलुक अमेरिकामा विभिन्न कारण र परिस्थितिबाट बसोबास गरिरहँदा पनि मन त नेपाली नै हुन्छ।” उनले चाडपर्व नजिकिँदा केवल आफन्त र परिवारको मात्र याद नआउने, तर नेपाली संस्कृतिका चाडपर्वलाई यहाँ बसेको पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्छ भनेर यो प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगितामा १० टोली सहभागी छन्। सेप्टेम्बर १८ देखि सुरु भएको प्रतियोगितामा चियाबारी एफसी, दुर्गा एफसी, माछापुच्छ्रे एफसी र राइनो एफसी सेमिफाइनलमा पुगेका छन्। फाइनल खेल अक्टोबर १० मा हुनेछ। उपाधि विजेता टोलीले ३० किलोको खसीसहित मेडल प्राप्त गर्नेछ। आयोजक समितिका सदस्य विकास सापकोटाले प्रतियोगिता आयोजना गर्ने उद्देश्य नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिनु रहेको बताए।

प्रतियोगिताका खेलाडी भूपाल कोइरालाले आरटीपी दशैं कप सबै नेपालीको साझा कार्यक्रमको रूपमा विकास हुँदै गइरहेको उल्लेख गरे। आयोजक सदस्यहरूले यस प्रतियोगिताले अमेरिकामा बसोबास गर्ने नेपाली दोस्रो पुस्तासहित नयाँ पुस्तालाई पनि नेपाली संस्कृति र चाडपर्वसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताए।