फिनल्याण्डले गुगललाई डेटा सेन्टर निर्माण रोक्न निर्देशन दियो, ३०० हेक्टरभन्दा बढी जंगल फाँडिएको आरोप

फोटो क्रेडिट : Alessandro Rampazzo/AFP फिनल्याण्डको भाला स्थानमा गुगलले डेटा सेन्टर निर्माण थालेको दृश्य। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ताका कारण गुगलका दुई प्रस्तावित डेटा सेन्टर निर्माण कार्य रोक्न निर्देशन दिएको छ। डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फाँडिएको भन्दै त्यहाँका अधिकारीहरूले निर्माण कार्य तुरुन्त रोक्न निर्देशन दिएका हुन्। गुगलले फिनल्याण्डमा डेटा सेन्टर निर्माणका लागि १३ अर्ब यूरो लगानी गर्ने घोषणा गरेको थियो, जुन युरोपमा कम्पनीको अहिलेसम्मकै ठूलो एकल लगानी मानिएको छ। तर, एक महिनाभन्दा कम समयमा नै अधिकारीहरूले उक्त परियोजनाको काम रोक्न आदेश दिएको छ।
फिनल्याण्डकी सुपरभाइजरी एजेन्सी (एलभीभी) का अनुसार काजानी र मुहोसमा प्रस्तावित डेटा सेन्टरहरूको लागि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य रहे पनि कम्तीमा एउटा साइटमा बिना मूल्यांकन निर्माणपूर्व कार्य अघि बढाइएको पाइयो। एजेन्सीले आगामी २३ अक्टोबरसम्म वातावरणमा ‘महत्वपूर्ण परिवर्तन’ ल्याउने कृयाकलापहरू रोक्न आदेश जारी गरेको छ। स्पष्टीकरण दिनुपर्ने क्रममा सुपरभाइजरी एजेन्सीका वातावरण प्रमुख टोम्मी मुइलुकाले त्यो क्षेत्रमा रूख काट्ने, माथिल्लो माटो हटाउने, स्थलमार्ग र भण्डारण क्षेत्र निर्माण गर्ने कार्यसहित पानी निकास प्रणालीका नालीहरूमा परिवर्तन गरेको बताएका छन्। गुगलले डेटा सेन्टर परियोजनाको व्यवस्थापन गर्ने कम्पनी टुइके फिनल्याण्डलाई १४ अक्टोबरसम्म स्पष्टीकरण दिन र आगामी योजना पेश गर्न भनिएको छ। आदेश नमानिए कडा कारबाही हुने चेतावनी पनि दिइएको छ।
गुगलले आफ्नो त्रुटि स्वीकार गर्दै बीबीसीलाई भन्यो, “हामीले आफ्नै उच्च मापदण्डहरू पूरा गर्न सकेनौं।” तर कम्पनीले वन ऐन अन्तर्गत सद्भावपूर्वक काम गरेको, प्राकृतिक स्थलहरूको सर्वेक्षण गरेको र उच्च वातावरणीय मूल्य भएका क्षेत्रहरूको संरक्षणका लागि आवश्यक कदम चालिरहेको दावी गरेको छ। गुगलले दीर्घकालीन रूपमा ती क्षेत्रमा कामको क्रममा वातावरण संरक्षण तथा जैविक विविधता सम्बन्धी योजना पनि अघि बढाउँदै आएको जनाएको छ। गुगलले गत महिना सन् २०२७ र २०२८ मा कम्तीमा १३ अर्ब यूरो फिनल्याण्डमा लगानी गर्ने घोषणा गरेको थियो।






