पेट्रोलियम उत्पादनको मूल्य घटाउन १० करोड बढी ब्यारेल तेल बजारमा ल्याउने आईईएको निर्णय

अन्तराष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का सदस्य राष्ट्रहरूले इन्धनको बढ्दो मूल्यलाई घटाउने प्रयास स्वरूप आपत्कालीन तेल भण्डारबाट थप तेल छिटै बजारमा ल्याउने निर्णयलाई समर्थन जनाएका छन्। होर्मुज जलमार्ग बन्द भएपछि इन्धनको मूल्यमा थप वृद्धि भएको छ। आईईएको कार्यकारी निर्देशक फातिह बिरोलका अनुसार सदस्य राष्ट्रका सरकारहरूले यसै वर्ष मार्चमा गरिएको सामूहिक निर्णयलाई कार्यान्वयनमा आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएका छन्। उक्त निर्णय अन्तर्गत इरानमाथि अमेरिका र इजरायलबीचको युद्धका कारण उत्पन्न आपूर्ति अवरोधलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरूले आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ राष्ट्रहरूले बजारमा इन्धन आपूर्ति नगरे अमेरिकाबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि आईईएको पछिल्लो निर्णय आएको हो। शुक्रबार जी–७ राष्ट्रहरूले थप १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति गरेका थिए। बिरोलले एक वक्तव्य जारी गर्दै हालसम्म उक्त सम्झौताअन्तर्गत करिब ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा ल्याइसकिएको बताएका छन्। प्रतिबद्धता व्यक्त गरिए पनि अहिलेसम्म बजारमा नल्याइएको सम्पूर्ण तेल सञ्चितिमध्ये बाँकी रहेको तेल बजारमा ल्याउँदा थप करिब १० करोड ब्यारेल तेल उपलब्ध हुने उनले जानकारी दिए।
आईईएका केही सदस्य राष्ट्रहरूले सुरुआतमा प्रतिबद्धता जनाएको भन्दा धेरै परिमाणमा तेल बजारमा ल्याइसकेको पनि बिरोलले बताएका छन्। उनका अनुसार आईईए सदस्य राष्ट्रहरूसँग अझै ठूलो मात्रामा सार्वजनिक स्वामित्वमा रहेका आपत्कालीन तेल भण्डार छन्। तीमध्ये करिब १ अर्ब १० करोड ब्यारेल तेल रहेको र २० करोड ब्यारेलभन्दा बढी डिजेल रहेको उनले उल्लेख गरे।






