Skip to main content

अर्बिट ग्रुपलाई ब्रिटिश काउन्सिलको ‘सर्वोत्कृष्ट व्यवसायिक साझेदार’ पुरस्कार प्रदान

ब्रिटिश काउन्सिलले दक्षिण एसियामा उत्कृष्ट व्यवसायिक साझेदारको पुरस्कार अर्बिट ग्रुपलाई प्रदान गरेको छ। अर्बिट ग्रुपका निर्देशक सुनिल रेग्मीले लन्डनमा आयोजित समारोहमा उक्त पुरस्कार ग्रहण गरे। अर्बिट ग्रुपले सन् २०१७ देखि ब्रिटिश काउन्सिलसँग सहकार्य गर्दै आइएलटिएस परीक्षा दर्ता गराउँदै आएको छ।

लन्डनस्थित मिलेनियम होटल एण्ड रिसोर्टमा शुक्रबार साँझ आयोजना गरिएको समारोहमा अर्बिट ग्रुपका निर्देशक सुनिल रेग्मीले उक्त पुरस्कार ग्रहण गरे। ब्रिटिश काउन्सिलका हेड अफ ग्लोबल आइएलटिएस एन्ड्रयू म्याकेन्जी र ग्लोबल पार्टनरशिप म्यानेजर बेन वेकफोर्डले उक्त पुरस्कार प्रदान गरेका हुन्। यो पुरस्कार अर्बिट ग्रुपले शिक्षा, व्यवसायिक सहकार्य तथा अन्तर्राष्ट्रिय अवसरहरू विस्तार गर्न खेलेको उल्लेखनीय भूमिकाको कदरस्वरूप दिइएको हो।

दक्षिण एसियाका विभिन्न साझेदारमध्ये अर्बिट ग्रुपले देखाएको उत्कृष्ट प्रदर्शन, सेवाको गुणस्तर र विद्यार्थी तथा संस्थाहरूलाई जोड्ने प्रयासलाई विशेष रूपमा प्रशंसा गरिएको छ, निर्देशक रेग्मीले बताए। ‘यस उपलब्धिले अर्बिट ग्रुपको विश्वसनीयता र प्रभावलाई अझ सुदृढ बनाएको छ, साथै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा यसको नेतृत्वदायी भूमिकालाई पनि उजागर गरेको छ,’ उनले भने।

ब्रिटिश काउन्सिल नेपालको व्यवसायिक साझेदार अर्बिट ग्रुपले सन् २०१७ देखि ब्रिटिश काउन्सिलसँग सहकार्य गर्दै आइएलटिएस परीक्षा दर्ता गरिरहेको छ। ब्रिटिश काउन्सिलले विश्वका १४० भन्दा बढी देशहरूमा आइएलटिएस परीक्षा सञ्चालन गर्दै आएको छ। बेलायत, अमेरिका, अष्ट्रेलिया लगायत देशमा अध्ययनका लागि जाने विद्यार्थीहरूका लागि आइएलटिएस अनिवार्य छ। ब्रिटिश काउन्सिलका साउथ एसिया निर्देशक तलाल मिरले अर्बिटसँग काउन्सिलको रणनीतिक र व्यवसायिक साझेदारी भविष्यमा अझ सशक्त बनिरहने विश्वास व्यक्त गरे। उनले नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले ‘जेन्यूइन’ पाएको कुरा पनि उल्लेख गरे।