
१६ चैत, काठमाडौं । वीर अस्पतालले सोमबारदेखि महिलाका लागि नि:शुल्क क्यान्सर परीक्षण सुरु गरेको छ। काठमाडौं महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा वीर अस्पतालमा आजदेखि महिलाको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको नि:शुल्क परीक्षण सुरु गरिएको हो। क्यान्सर परीक्षण आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ। परीक्षण शुभारम्भमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले क्यान्सर रोग समयमा पत्ता लगाउन सके जीवन बाँच्न सक्ने बताइन्। ‘जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ। जीवन बचाउन सकिन्छ’, उनले भनिन्।
सोही क्रममा डंगोलले आफ्नो पनि क्यान्सर परीक्षण गरिन्। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले यसअघि समयमा क्यान्सर पहिचान गर्न नसक्दा यो डरलाग्दो बनेको उल्लेख गरे। अस्पतालका कार्यकारी निर्देशक प्राडा. दिलीप शर्माले महिलाले पटकपटक क्यान्सर परीक्षण गर्नुपर्ने र क्यान्सर लाग्दैमा डराउनु नपर्ने बताए। महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले देशभरिका जोसुकै महिलाले अस्पतालमा गएर क्यान्सर परीक्षण गराउनसक्ने बताए। उनकाअनुसार क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट रिफर पुर्जी लिएर वीर अस्पतालमा पुगेर क्यान्सर परीक्षण गराउन सकिनेछ। महिलाको क्यान्सर परीक्षणका लागि महानगरले अस्पताललाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। –रासस






