
२५ असोज, काठमाडौं। चर्चित युट्युबर ध्रुव राठीले प्रहरीबाट अपहरण र कुटपिटको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफू भारतीय नागरिक भएको स्पष्ट पारेका छन्। भिडियोमा आफ्नो पासपोर्ट देखाउँदै राठीले भनेका छन्, ‘यो मेरो पासपोर्ट हो र म एक भारतीय नागरिक हुँ र भारतीय नै रहनेछु। म विदेशी पासपोर्ट होल्डर हुँ र प्रोटेस्टमा सामेल हुन सक्दिनँ भन्ने कुरा पूर्ण रूपमा गलत हो। म भारतीय नागरिक हुँ र मेरा पनि त्यति नै अधिकार छन्, जति कुनै पनि आम नागरिकका हुन्छन्।’
घटनाको विवरण दिँदै राठीले असोज २४ गते बिहान ७ बजेतिर आफ्नो घरमा सामान्य पोशाकमा उपस्थित मान्छेहरूले प्रवेश गरेको बताएका छन्। आफ्नी आमालाई धक्का दिँदै बेडरूममा पसेका ती व्यक्तिहरूले उनलाई जबरजस्ती लगेको आफूले दाबी गरेका छन्। ‘म यहाँ किडन्याप शब्द प्रयोग गर्दैछु किनभने यो कुनै अरेस्ट वा डिटेन्सन होइन। डिटेन्सन त तब हुन्थ्यो यदि म प्रोटेस्टमा जान्थेँ। अरेस्ट तब हुन्थ्यो यदि कुनै प्रहरी आएर आफनो वर्दी र नेम प्लेट देखाउँथ्यो,’ उनले स्पष्ट पारे।
घरबाहिर ५० भन्दा बढी मानिसहरू उभिएका थिए र त्यहीहरूले उनलाई अपराधीझैं घिसारेर लगिएको राठीले बताए। सो क्रममा उनलाई धेरै चोट लागेको र फोन खोसिएकाले भिडियो खिच्न नपाएको पनि उनले बताउँदै प्रहरीले वकिल र फोन सम्पर्क नदिई करिब २२ देखि २३ घण्टासम्म राखेको दाबी गरे। देशको वर्तमान अवस्थाबारे प्रश्न गर्दै राठीले भने, ‘के कुनै लोकतान्त्रिक मुलुकमा यस्तो देख्नुभएको छ जहाँ कुनै कानून नतोडेको, सत्य र देशहितको लागि आवाज उठाएको र राम्रो निर्वाचन आयोगको माग गरेको आम नागरिकलाई बेडरूमबाट अपहरण गरियोस् र उनका आमाबाबुहरूलाई पनि हातपात गरियोस्?’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशलाई डिक्टेटरसिपमा रुपान्तरण गरेको आरोप लगाउँदै राठीले हालको अवस्थालाई ‘अनअफिसियल इमर्जेन्सी’ भनेका छन्। उनले सीजेपी नेताहरू सहित ७ हजार मानिसलाई डिटेन्सन गरिएको र यस्ता घटनाहरू केवल इमर्जेन्सी वा उत्तर कोरियाजस्ता देशमा हुने उल्लेख गरेका छन्। राठीका अनुसार हाल पनि १५ भन्दा बढी मानिसहरूले उनलाई निगरानीमा राखेका छन्। आफूलाई अघोषित हाउस अरेस्टमा राखिएको दाबी पनि उनले गरेका छन्।






