Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बुढीगण्डकी थुनिएपछि पनि ‘भूकम्पीय हलचल’, थप बाढीको जोखिम कति छ?

Advertisement800×200-1

गोरखाको चुमनुब्रीमा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको समयमा आसपासको जमिनमा कम्पन भएको संकेत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता राजन भट्टराईका अनुसार आइतवार बिहान उक्त क्षेत्रमा कम्पन मापन गरिएको थियो। “साढे चार बजेतिर (४.२ रिक्टर स्केल आसपासको) एक सङ्केत आएको थियो। साढे चार बजे आसपास नै त्यहाँ पहिरो खसेको देखिन्छ,” उनले भने, “त्यही बेला सानोतिनो कम्पन भएको हो कि भन्ने धारणा भए पनि हामीले त्यसमा खासै जोड दिएका छैनौँ।” उक्त घटनाको विस्तृत कारण पुष्टि गर्न थप अध्ययन आवश्यक रहेको उनले बताए।

झन्डै डेढ महिनाअघि भोटेकोशी-त्रिशूली क्षेत्रमा बाढी आउँदा लाङ्टाङ लिरुङ क्षेत्रमा पनि भूकम्पीय हलचल मापन गरिएको थियो। सुरुमा भूकम्पका कारण पहिरो खसेको आशङ्का गरिएको थियो, तर वैज्ञानिक अनुसन्धानले पछि पहिरोका कारण नै कम्पन भएको पुष्टि गरेको थियो। केन्द्रले शनिबार राति जारी गरेको ‘स्थिति प्रतिवेदन’ अनुसार गोरखाको चुमनुब्रीस्थित तुम्जेनजिक बुढीगण्डकीको सहायक नदी क्षेत्रमा पहिरो गएको देखिन्छ। “प्रारम्भिक सूचना र भूउपग्रह तस्बिरको अवलोकनले पहिरोका कारण नदीको बहाव अवरुद्ध भई पानी सञ्चित भएको र अवरोध कमजोर वा भत्किँदा आकस्मिक बहाव उत्पन्न भएको देखाएको छ,” प्रतिवेदनमा उल्लेख छ। थप अध्ययनमा जोड दिइएको पनि छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘चुमनुब्री-६ को लोक्पा र चुम्बलिङको बीचमा पर्ने सिरिङ्गे हिमालबाट खसेको पहिरोले स्थानीय उइनगुलुङ खोला थुनिएको’ जनाएको छ। कतिपय सञ्चारमाध्यमले पनि चुमनुब्रीमा हिउँपहिरो खसेको विवरण दिएका छन्। “हामीले पहिरो मात्रै भनेका छौँ र भूउपग्रह तस्बिरहरू पनि विश्लेषण गर्दा पहिरो नै देखिन्छ,” प्रवक्ता भट्टराईले भने, “माथिबाट हिमनदीका केही भाग खसेका हुन् कि होइनन् भन्न स्याटलाइट तस्बिरमा धेरै बादल देखिएकोले स्पष्ट भन्न सकिएको छैन।”

प्रभावित क्षेत्रमा सोमबार पनि खोज तथा उद्धारकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। बाढीका कारण आवतजावत अवरुद्ध भएका स्थानबाट मानिसहरूलाई उद्धार गरी सुरक्षित ठाउँमा लैजाने कार्य भइरहेको प्राधिकरणका विपद् प्रतिकार्य शाखा प्रमुख राम केसीले बताए। केसीका अनुसार बाढीबाट गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गरी तीनवटा स्थानीय तह प्रभावित भएका छन्। ठाउँठाउँमा पुल भत्किँदा सडक सम्पर्क अवरुद्ध भए तापनि आइतबार बेलुकी आठ ट्रक राहत सामग्री आरुघाट पुर्‍याइएको उनले जानकारी दिए। “गोरखा र धादिङ गरेर करिब ३०० मानिस प्रभावित भएका छन् र एक चरणको राहत उनीहरूसम्म पुर्‍याइसकेका छौँ।”

“सडक सञ्जाल विच्छेद भएका दुर्गम क्षेत्रमा भने सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत् राहत सामग्री ढुवानी भइरहेको छ,” उनले भने। विशेष गरी आरुघाट र चुमनुब्रीमा पक्की पुल भत्किँदा आवतजावतमा समस्या परेको केसीले बताए। उनका अनुसार आरुघाटमा २२ मिटर लामो बेलिब्रिज जडान गरेर अस्थायी रूपमा आवागमन सञ्चालन गर्ने तयारी भइरहेको छ र छिट्टै त्यो काम अघि बढाइनेछ। बाढीमा परी चुमनुब्रीका दुई महिला र पाँच पुरुष गरी सात जना सम्पर्कविहीन भएका छन् भने प्रभावित क्षेत्रबाट नेपाली सेनाले आइतबार नौ विदेशी नागरिकसहित ९५ जनाको उद्धार गरेको थियो।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक र प्रवक्ता भट्टराईका अनुसार आइतबार पहिरो गएको क्षेत्रलाई उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रका रूपमा मानिएको थियो। “खुकुलो जमिन भएकाले पहिरो जान सक्ने ठाउँहरू थिए,” उनले बताए। कतिपय विश्लेषकहरू सन् २०१५ को भूकम्पपछि उक्त क्षेत्रका हिमाली तथा पहाडी क्षेत्रको जमिन कमजोर बनेको भन्छन् र यस्ता घटना दोहोरिन सक्ने आशंका व्यक्त गर्छन्। उक्त भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक नजिकै थियो। “अझै खतरा छ कि?” प्रश्नमा प्रवक्ता भट्टराईले भने, “त्यसलाई नकार्न सकिँदैन। त्यहाँ पहिले देखि नै जोखिमको अवस्था थियो। यद्यपि अहिलेको निश्चित घटनामा खतरा घटेको देखिन्छ।” विपद् प्राधिकरणका केसीले पनि आइतबारको तुलनामा सोमबार जोखिम कम रहेको बताए। “आइतवार नदी थुनिएर पानी बग्ने अवस्था थियो। सोमवार त्यस्तो छैन,” उनले भने। “तर हामी निरन्तर निगरानी गरिरहेका छौँ।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर