Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो

Advertisement800×200-1

शक्तिशाली एल निनोको कारण प्रशान्त महासागरको ‘निनो ३.४’ क्षेत्रमा सेप्टेम्बरमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको कोपर्निकसले जनाएको छ। कोपर्निकसका अनुसार गत सेप्टेम्बरमा विश्वको औसत सतही तापक्रम १६.२७ डिग्री सेल्सियस रह्यो, जुन पूर्वऔद्योगिक औसतभन्दा १.६३ डिग्री बढी हो। कार्लो बुन्टेम्पोले शक्तिशाली एल निनोको कारण सन् २०२७ सम्म मासिक तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि रहन सक्ने बताए।

पेरिस (रासस/एएफपी) – शक्तिशाली एल निनोको प्रभावका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बर महिनामा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च सतहमा पुगेको युरोपेली सङ्घ (इयू) को जलवायु अनुगमन सेवाले जनाएको छ। वैज्ञानिकहरूले सन् २०२७ मा विश्वव्यापी तापक्रम नयाँ रेकर्ड कायम गर्न सक्ने चेतावनी दिएका छन्। इयू अन्तर्गतको कोपर्निकस जलवायु परिवर्तन सेवाले जनाएअनुसार ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियसरहेको थियो। यो मापन सन् १९८२–१९८३, १९९७–१९९८ र २०१५–२०१६ का शक्तिशाली एल निनो घटनाहरूको समयभन्दा माथि छ।

यद्यपि, जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम पहिल्यै बढेको हुँदा हालको एल निनो सबैभन्दा शक्तिशाली भएको निचोडमा पुग्न नसकिने कोपर्निकसले जनाएको छ। गत सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियसमा पुगेको थियो भने विश्वको औसत सतही तापक्रम १६.२७ डिग्री सेल्सियस रहयो, जुन पूर्वऔद्योगिक औसतभन्दा १.६३ डिग्री सेल्सियसभन्दा बढी हो। कोपर्निकसका निर्देशक कार्लो बुन्टेम्पोले भनेका छन् कि शक्तिशाली एल निनोका कारण सन् २०२७ सम्म मासिक तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि रहन सक्ने सम्भावना छ। तापक्रम वृद्धिलाई नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु आवश्यक रहेको वैज्ञानिकहरूले औंल्याएका छन्। एल निनो प्राकृतिको जलवायु चक्रको तापक्रम वृद्धि गर्ने चरण हो। यसले प्रशान्त महासागरको सतहको तापक्रम बढाएर विश्वव्यापी हावा तथा वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ र विभिन्न क्षेत्रमा खडेरी तथा बाढीको जोखिम बढाउन सक्छ। यो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखा पर्छ र नौदेखि १२ महिनासम्म रहन्छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर