

क्यारोलिनामा सम्पन्न आरटीपी दशैं कपको उपाधि दुर्गा एफसीलाई


अमेरिकाको नर्थ क्यारोलिनास्थित एपेक्स नेचर पार्कमा सम्पन्न आरटीपी दशैं कप फुटबल प्रतियोगिताको उपाधि दुर्गा एफसीले जितेको छ। आइतबार राति सम्पन्न फाइनलमा दुर्गा एफसीले माछापुच्छ्रे एफसीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। विजेता दुर्गा एफसीले खसीसहित ट्रफी र मेडल प्राप्त गरेको छ।
प्रतियोगितामा दुर्गा एफसीका भुवनसिंह कार्की, समन धौबडेल, राज खड्का, र अविनास राजभण्डारीले गोल गरेका थिए भने माछापुच्छ्रेका रविन रेग्मीले एक गोल फर्काएका थिए। उपाधि जितेको दुर्गा एफसीलाई एपेक्स नगरपालिकाका नगर परिषद् सदस्य अर्नो जेगर्मन र शेन रिसले ट्रफी तथा मेडल प्रदान गरेका थिए।
आयोजक सदस्य टंक सेलिङका अनुसार, नेपाली समुदायबीच एकता, आपसी भाईचारा र सामाजिक सद्भाव स्थापना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस वर्ष सेप्टेम्बर १८ मा सुरु भएको यो प्रतियोगिता विगत १० वर्षदेखि दशैंको पूर्वसन्ध्यामा निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ। विकास सापकोटाले अमेरिकामा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिँदै समुदायबीचको सम्बन्धलाई मजबुत बनाउन यो प्रतियोगिता आयोजना गरिएको बताए।
दुर्गा एफसीका कप्तान सुनिल केसीले भनिन् कि यस प्रतियोगिताले नेपाली डायस्पोराबीच सम्पर्क, सहकार्य र सम्बन्धलाई विस्तार गर्नुका साथै नेपाली पहिचान, संस्कृति र समुदायप्रतिको अपनत्व बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

सम्बन्धित खबर









