

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले २०औं एसियाली खेलकुद अवधिमा नेपाल ओलम्पिक कमिटीका चार जना र नेपालका एक खेल पत्रकारलाई प्रशंसापत्रसहित विशेष सम्मान प्रदान गरेको छ। ओसीएले नेपाल ओलम्पिक कमिटी (एनओसी) का सचिव रामकृष्ण श्रेष्ठ, सदस्य लाक्पा छिरिङ लामा, कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, आईटी तथा सञ्चार अधिकृत आयुष जोशी र गोरखापत्र दैनिकका खेल पत्रकार प्रजित शाक्यलाई एसियाली खेलकुदको पदक र प्रशंसापत्रसहित सम्मान गरेको हो।
यी व्यक्तिहरूलाई एसियाको सबैभन्दा ठूलो खेल महोत्सवको खेल भावना, एकता र सहभागिता सम्बन्धी मूल्य मान्यता प्रवर्द्धन र प्रचारप्रसारमा अतुलनीय योगदान दिएको भन्दै सम्मान गरिएको छ। २०औं एसियाली खेलकुद जापानको आइची नागोया शहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना गरिएको थियो। आइची नागोया एसियाडमा ४५ देशका खेलाडी र अधिकारी गरी करिब १७ हजार सहभागी थिए।
नेपालका १३५ खेलाडीद्वारा २१ खेलमा सहभागिता जनाइएको थियो। २०औं एसियाडमा नेपालले दुई कांस्य पदक जितेको थियो। करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले नेपाललाई कांस्य पदक दिलाएका थिए।

सम्बन्धित खबर











