Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको हवाई रक्षा प्रणालीमा प्रश्न, अनुसन्धान थालिएको छ

Advertisement800×200-1

२७ असोज, काठमाडौं । साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको घातक आक्रमणबारे अनुसन्धान सुरु गरेको छ । हुथीले प्रहार गरेको क्षेप्यास्त्रलाई हवाई रक्षा प्रणालीले किन रोक्न सकेन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरान समर्थित हुथी विद्रोहीले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक अनुसन्धानले देखाएको छ कि हुथी विद्रोहीहरूले पहिले धेरै ड्रोन प्रहार गरी त्यसपछि क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका हुन् । यमनबाट प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्रले एक हजार किलोमिटरभन्दा बढी दूरी पार गरी रियाद विमानस्थललाई निशाना बनाएका थिए । अनुसन्धानले आक्रमणको पूर्वसूचना हवाई रक्षा प्रणालीले किन दिन सकेन भन्ने विषयलाई समेत समेटेको एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार, हुथी विद्रोहीहरूसँग उडानका क्रममा दिशा परिवर्तन गर्न सक्ने वारहेड जडित क्षेप्यास्त्र र उन्नत हतियार प्रणाली रहेको देखिएको छ । यस्ता हतियारले साउदी अरबले प्रयोग गर्ने प्याट्रियट लगायतका क्षेप्यास्त्र रक्षा प्रणालीलाई चुनौती दिन्छन् भन्ने अनुमान गरिएको छ । इत्तेहाद र कतार एयरवेजका उडानहरू स्थगित साउदी अरबका विमानस्थलमा भएका आक्रमणपछि खाडी क्षेत्रको हवाई सेवा प्रभावित भएको छ । इत्तेहाद एयरवेज र कतार एयरवेजले साउदी अरबका विभिन्न सहरहरू तर्फका उडानहरू रद्द तथा स्थगित गरेका छन् ।

सोमबार राति रियादमा कम्तीमा तीन विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि नागरिक सुरक्षा अधिकारीहरूले तत्कालका लागि खतराको अवस्था टरेको बताएका थिए । तर, हुथी विद्रोहीहरूले किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएका छन् । उनीहरूले मक्का र मदिनाको विमानस्थल बाहेक साउदी अरबका अन्य विमानस्थललाई असुरक्षित भनेका छन् र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई समेत चेतावनी दिएका छन् । आक्रमणपछि रियाद विमानस्थल सोमबार पनि बन्द नै रहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियाद विमानस्थलमा भएको घातक आक्रमणपछि हुथीविरुद्ध अमेरिकी सैन्य कारबाही गर्ने सम्भावनाबारे विचार गरिरहेको बताएका थिए । सोमबार साउदी युवराज मोहम्मद बिन सलमानसँग कुराकानी गरेको पनि ट्रम्पले बताएका छन्, तर यस विषयमा विस्तृत जानकारी भने दिएका छैनन् । उनले हुथीलाई ‘अत्यन्त खराब व्यवहार’ गर्ने समूहको रूपमा संज्ञा दिँदै साउदी अरबको रक्षा लागि अमेरिकाले कदम चाल्ने वा नचाल्ने छिट्टै थाहा हुने बताएका छन् ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर