

यमनमा द्वन्द्वका कारण ८ लाख मानिस खाद्य सहयोगबाट वञ्चित : डब्लूएफपी


यमनमा तीव्र द्वन्द्वका कारण ८ लाख व्यक्तिहरू जीवन रक्षा गर्न अत्यावश्यक भोजन सहयोगबाट वञ्चित भएका छन् भनी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ। युद्धको अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था कमजोर बनेकाले प्रमुख क्षेत्रहरूमा राहत सामग्री पुर्याउन कठिनाइ भइरहेको कार्यक्रमले जनाएको छ।
डब्लूएफपीका अनुसार, यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर अवस्थामा छ। त्यहाँ जारी युद्ध र सडक बन्द हुने जोखिमले हजारौं विस्थापित परिवार बसोबास गर्ने क्षेत्रहरूमा राहतकर्मीहरूको पहुँच पूर्ण रूपमा अवरुद्ध भएको छ। केवल ताइजमा मात्रै ६ लाखभन्दा बढी मानिसहरू भोजन सहयोगबाट वञ्चित भएका छन्। डब्लूएफपीले यसमध्ये करिब २ लाख महिला र बालबालिका रहेको जानकारी दिएको छ।
यमनको पश्चिमी तटीय क्षेत्रमा पनि हालै राहत पहुँच अवरुद्ध भएको छ। खाद्य संकट गहिरिँदै गरेका क्षेत्रमा पिठोको आपूर्ति सकिन थालेको छ भने स्थानीय बजारमा खाद्यान्नको उपलब्धता कमी भएको छ। यसले मानवीय संकट भयावह रूपमा बढ्ने जोखिमलाई थप बढाएको छ। डब्लूएफपीका अनुसार यमनभर १ करोड ८० लाखभन्दा बढी मानिसहरूलाई पर्याप्त खाना उपलब्ध छैन। पछिल्लो अनुगमनले राहतकर्मी पुग्ने क्षेत्रका ७४ प्रतिशत परिवारहरूले पनि दैनिक खाद्य आवश्यकताहरू पूरा गर्न नसकेको देखाएको छ, जुन अहिलेसम्मकै उच्च अनुपात हो।

सम्बन्धित खबर









