

चाडपर्वका क्रममा हुने ‘साइबर फ्रड’ रोक्न राष्ट्र बैंकले फोकल पर्सन तोक्न निर्देशन


नेपाल राष्ट्र बैंकले चाडपर्वका बेला हुनसक्ने ‘साइबर फ्रड’ र अनलाइन ठगीका घटनालाई तुरुन्त सम्बोधन गर्नका लागि ‘फोकल पर्सन’ तोक्न निर्देशन दिएको जनाएको छ। राष्ट्र बैंक र वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका सबै बैंक र वित्तीय संस्थाहरूलाई साइबर सुरक्षाका जोखिम न्यूनिकरणका लागि यस्तो व्यवस्था गर्न निर्देशन जारी गरेको हो। निर्देशनपछि बैंकहरूले फोकल पर्सन तोक्न थालेका छन् र यसले ठगी नियन्त्रणमा सहयोग पुग्ने नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ।
पछिल्ला वर्षहरूमा अनलाइन कारोबार बृद्धिसँगै साइबर फ्रड र अनलाइन ठगीका घटना बढेका छन् र चाडपर्वका बेला ती घटनाहरू अझ धेरै हुने गरेका छन्। बैंक र वित्तीय संस्थाले तोकिएको फोकल पर्सनको नाम, पद, मोबाइल नम्बर र सातैदिन २४ घण्टा अनुगमन हुने ड्यूटी इमेल ठेगाना नेपाल प्रहरी प्रधान कार्यालयको इमेल cbpillar@nepalpolice.gov.np मा उपलब्ध गराउनु अनिवार्य रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले साइबर फ्रड वा अनलाइन ठगीको उजुरी आए बित्तिकै यो मुद्दामा तत्काल कदम उठाएर पैसा फिर्ता गर्न सकिओस् भनी निर्देशन दिएको हो। बैंकको विज्ञप्तिमा भनिएको छ, “चाडपर्वमा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगी सम्बन्धी कारोवार विवरण तुरुन्त उपलब्ध गराउन, शङ्कास्पद खाता र कारोबार चाँडो पहिचान गरी रोक्का राख्न र समग्र अनुसन्धान प्रक्रिया सहज बनाउन बैंक तथा वित्तीय संस्थालाई जिम्मेवार व्यक्तिलाई तोक्न निर्देशन दिइएको छ।”
बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले चाडपर्वमा डिजिटल स्क्याम हुने भएकाले पीडितहरूले उजुरी गर्दा लामो छुट्टिका कारणले बैंक तथा वित्तीय संस्था प्रभावकारी प्रतिक्रिया जनाउन नसक्ने भएकाले यस्तो निर्देशन आवश्यक भएको बताए। उनले भने, “चाडपर्वमा मानिसले पर्व मनाइरहेका बेला कतिपयले बदमासी गर्न खोजिरहेका हुन्छन्, त्यसलाई नियन्त्रण गर्न फोकल पर्सनले विशेष ध्यान दिनुपर्छ।”

सम्बन्धित खबर









