Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एमसीसी नेपाल: कम्प्याक्टको समयावधि १ वर्ष थप्न स्वीकृत, प्रगति भने २० प्रतिशतमै सीमित

Advertisement800×200-1

गत आर्थिक वर्षसम्म मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनाहरूमा २० प्रतिशतभन्दा कम प्रगति भएको तथ्य सार्वजनिक भएपछि नेपाल सरकारले सम्झौतालाई कार्यान्वयनका लागि एक वर्ष म्याद थप्न अनुरोध गरेको थियो र त्यसलाई एमसीसीले स्वीकार गरेको मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले जनाएको छ।

असोज महिनाको पहिलो साताभित्र राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको राष्ट्रिय गौरवका आयोजनाहरूको समष्टिगत प्रगति विवरणमा उक्त आयोजना सुरु भएदेखि गत आर्थिक वर्षको अन्त्यसम्म १८.२४ प्रतिशत मात्र आर्थिक र वित्तीय प्रगति भएको जानकारी छ। लामो राजनीतिक विवादपछि प्रतिनिधिसभाले व्याख्यात्मक टिप्पणीसहित सम्झौतालाई अनुमोदन गरेपछि सन् २०२३ को अगस्तदेखि नेपालमा एमसीसी कम्प्याक्ट कार्यान्वयनको चरणमा प्रवेश गरेको थियो।

उक्त परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक सञ्जाल निर्माणका सम्पूर्ण कामहरू अबको एक वर्ष र साढे १० महिनामा सम्पन्न गर्नुपर्ने निर्धारित थियो। त्यसपछि थप एक वर्षको म्याद थप गरिएको छ। पछिल्लो म्याद थपको स्वीकृति अहिले नेपाली अर्थमन्त्रालयबाट अनुमोदन हुन बाँकी रहेको एमसीए नेपालले बताएको छ।

एमसीए नेपालले प्रदान गरेको पछिल्लो विवरणमा सेप्टेम्बरसम्म परियोजनामा २०.५६ प्रतिशत प्रगति भएको र २३ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको जनाइएको छ। एमसीए नेपालले “बाढी तथा अन्य अनपेक्षित घटनाक्रमहरूले कार्यान्वयनमा चुनौती सिर्जना गरेको भए पनि” परियोजनामा अवरोध नहोस् भनेर योजना बनाएर काम गरिरहेको बताएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर