

राति ढिलो खाना खाने बानीले कलेजो रोगको जोखिम २०-३० प्रतिशतले वृद्धि गर्ने अध्ययन


समाचार सारांश समीक्षा गरिएको लेख। राति ढिलो खाना खाने बानीले कलेजोको रोगको जोखिम २० देखि ३० प्रतिशतले बढाउने ओएचएसयूको नयाँ अध्ययनले देखाएको छ। नर्सेस हेल्थ स्टडीसहित तीन राष्ट्रिय अध्ययनका करिब २ लाख सहभागीहरूको तथ्याङ्क विश्लेषण गरी यो निष्कर्ष निकालिएको हो। अध्ययनका लेखकहरूले सुत्नुभन्दा केही घण्टा अघि क्यालोरी सीमित गर्नु लाभदायक हुन्छ र खानाको समय अगाडि सार्ने नयाँ क्लिनिकल अध्ययन शुरू भएको बताएका छन्। ३० असोज, काठमाडौं । राति अबेरसम्म खाजा गर्ने अर्थात् अतिरिक्त क्यालोरी सेवन गर्ने बानीले कलेजोमा गम्भीर असर पुर्याउन सक्ने नयाँ अनुसन्धानले देखाएको छ। ‘ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटी’ (ओएचएसयू) का अनुसन्धानकर्ताहरूले राति ढिलो खाना खाने बानीले कलेजोको रोग लाग्ने जोखिम उल्लेखनीय रूपमा बढाउने पत्ता लगाएका छन्। यस अध्ययनले खाना खाने समयले कलेजोको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने देखाएको छ। जर्नल ’क्लिनिकल ग्यास्ट्रोएन्टेरोलोजी एन्ड हेपाटोलोजी’ मा प्रकाशित यस अध्ययनअनुसार, नियमित रूपमा राति खाना खाएपछि वा सुत्ने बेलामा खाने व्यक्तिहरूमा, लेट–नाइट इटिङ नगर्नेहरूको तुलनामा कलेजो रोगको जोखिम २०–३० प्रतिशतले बढी हुने देखिएको छ। यस अध्ययनले फ्याटी लिभर डिजिज र कलेजोमा गम्भीर क्षति पर्ने सिरोसिस जस्ता समस्याहरू समेटेको छ। यस सम्बन्धलाई गहिरो रूपमा बुझ्नका लागि अनुसन्धानकर्ताहरूले तीनवटा राष्ट्रव्यापी ठूला अध्ययनहरू ‘नर्सेस हेल्थ स्टडी’, ‘नर्सेस हेल्थ स्टडी २’ र ‘हेल्थ प्रोफेसनल्स फलो–अप स्टडी’ का तथ्याङ्क विश्लेषण गरेका थिए। यी डेटासेटहरूमा खाने बानी, दैनिकी र अन्य जीवनशैलीका बारेमा जानकारी दिइएका करिब २ लाख सहभागीहरू समावेश थिए। अनुसन्धानकर्ताहरूले सहभागीहरूलाई सामान्यतया कुन समयमा खाना खान्छन् भन्ने आधारमा वर्गीकरण गरेर उनीहरूको फ्याटी लिभर र सिरोसिससम्बन्धी रिपोर्टसँग मिलान गराएका थिए। परिणामले स्पष्ट रूपमा देखायो कि राति ढिलो खानेहरूमा कलेजो रोगको जोखिम २० देखि ३० प्रतिशतले बढी हुन्छ। अमेरिकामा ३० प्रतिशतभन्दा बढी जनसंख्या फ्याटी लिभरबाट प्रभावित छ। कलेजोमा अत्यधिक बोसो जम्दा यो समस्या सुरु हुन्छ र यसले सूजन, कलेजोको क्षति हुँदै अन्ततः सिरोसिस निम्त्याउन सक्छ। तर, फ्याटी लिभर भएका अधिकांश मानिसहरूमा गम्भीर कलेजोको क्षति हुँदैन। यसको मुख्य कारण शरीरको आन्तरिक जैविक घडी (सर्केडियन रिदम्स) हो, जसले निद्रा, मेटाबोलिजम र अन्य प्रक्रिया नियमित गर्छ। कलेजो पोषण प्रशोधन गर्ने, रक्त सुगर नियन्त्रण गर्ने र ऊर्जा सञ्चय तथा प्रयोग गर्ने कार्यमा अत्यन्तै संवेदनशील हुन्छ। जब शरीर जैविक रूपमा निद्राको तयारी गरिरहेको हुन्छ, त्यतिबेला खाना खाँदा यी प्रक्रियाहरूमा बाधा आउँछ। नाइट सिफ्टमा काम गर्ने मानिसहरूमा मोटोपना र मुटुको रोगको उच्च दर देखिनुले पनि अनियमित भोजनाले मेटाबोलिक समस्याहरू निम्त्याउने संकेत गरेको छ। अध्ययनका सह–लेखक तथा ओएचएसयूका निद्रा र सर्केडियन फिजियोलोजीका प्राध्यापक एन्ड्रू म्याकहिल भन्छन्, ‘हामी बारम्बार देखिरहेका छौँ कि निद्रा, खाना वा व्यायाम जस्ता गतिविधिहरूको समय धेरै महत्वपूर्ण हुन्छ। जब तपाईं आन्तरिक घडीले निद्राको समय जनाइरहेको बेला खाना खानुहुन्छ, तब शरीरले खाना प्रभावकारी रूपमा पचाउन सक्दैन र यसले मोटोपना, मधुमेह र कलेजोको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ।’ यद्यपि यो अध्ययन अवलोकनमा आधारित भएर कारण-परिणामको प्रत्यक्ष पुष्टि नगरे पनि, खानपानको समय परिवर्तन गरेर आहारको प्रकृति नबदलिकनै कलेजोको स्वास्थ्य सुधार्न सकिने सम्भावना देखिएको छ। प्रमुख लेखक तथा हेपाटोलोजी विशेषज्ञ डा. रोबर्ट विलेचान्स्की भन्छन्, ‘ठूलो कुरा यो हो कि सुत्नुभन्दा केही घण्टा अघि क्यालोरी सेवन सीमित गर्नु लाभदायक हुन सक्छ।’ अनुसन्धानकर्ताहरूले खानाको समय अघि सार्दा फ्याटी लिभर भएका बिरामीहरूमा कस्तो सुधार हुन्छ भन्ने प्रत्यक्ष निगरानी गर्न नयाँ क्लिनिकल अध्ययन पनि सुरु गरेका छन्।

सम्बन्धित खबर









