Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ब्राजिलमा राष्ट्रपति चयनका लागि लुला र बोल्सोनारोबीच दोस्रो चरणको मतदान शुरु

Advertisement800×200-1

ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि लुइज इनासियो लुला दा सिल्भा र फ्लाभियो बोल्सोनारोबीच दोस्रो चरणको मतदान सुरु भएको छ। ४ अक्टोबरमा सम्पन्न पहिलो चरणमा सबैभन्दा अगाडि रहेका फ्लाभियोले मतदानअघि रियो र बेलो होरिजोन्टेमा अभियान चलाउँदै परिवर्तन, कर कटौती र अपराधविरुद्ध कडा कारबाहीको वाचा गरेका छन्। लुलाले यस निर्वाचनलाई लोकतन्त्र र राष्ट्रिय सार्वभौमिकताको लडाइँ भनेका छन् र अमेरिकी हस्तक्षेपको आरोप लगाउँदै मतदातालाई ब्राजिलको झण्डा रोज्न आग्रह गरेका छन्। ८ कात्तिक, काठमाडौं।

ब्राजिलमा नयाँ राष्ट्रपति चयन गर्न कडा प्रतिस्पर्धाबीच दोस्रो चरणको निर्वाचनमा मतदान सुरु भएको छ। यस निर्वाचनमा ८० वर्षीय वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा र ४५ वर्षीय दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा भइरहेको छ। लुला लगातार नभई चौथो कार्यकालका लागि राष्ट्रपति बन्ने प्रयासमा छन्। बोल्सोनारो पूर्व दक्षिणपन्थी राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन्।

सन् २०२२ को पछिल्लो निर्वाचनमा पराजित भएपछि सत्ता कब्जा गर्ने षड्यन्त्र गरेको आरोपमा जाइर बोल्सोनारो २७ वर्षको जेल सजाय भोगिरहेका छन्। ४ अक्टोबरमा सम्पन्न पहिलो चरणको मतदानमा फ्लाभियो बोल्सोनारो सबैभन्दा बढी मत प्राप्त गर्दै अगाडि आएपछि यस निर्वाचनमा उनीमाथि विशेष ध्यान केन्द्रित भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको पहिलो चरणको जितलाई ‘निकै ठूलो’ विजय भनेका थिए।

आइतबार बिहानै फ्लाभियो बोल्सोनारो रियो दि जेनेरियोस्थित मतदान केन्द्रमा पुगेका थिए। मतदान केन्द्रबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘वास्तविक परिवर्तनको समय आएको छ।’ फ्लाभियो बोल्सोनारो आइतबार बिहान आफ्नी श्रीमतीसँग रियो दि जेनेरियोको मतदान केन्द्रमा मतदान गर्न पुगेका थिए। उनका समर्थकहरू अन्तिम चुनावी सभाहरूमा निकै उत्साहित देखिएका थिए। उनीहरूले संगठित अपराधविरुद्ध कडा कारबाही गर्ने, कर घटाउने र सरकारी खर्च कटौती गर्ने बोल्सोनारोको प्रतिबद्धताले ब्राजिलमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए।

बोल्सोनारोले चुनावी प्रचारमा सहभागी हुँदै भने, ‘समय लगभग आइसकेको छ। आगामी ३० वा ४० वर्षसम्म हाम्रो राष्ट्रको भविष्य कस्तो हुनेछ भन्ने निर्धारण गर्न अब केही घण्टा मात्र बाँकी छन्।’ उनले स्वास्थ्य समस्याका कारण हाल घरमै नजरबन्दमा रहेर सजाय भोगिरहेका आफ्ना बुबालाई जेल सजायबाट मुक्त गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। निर्वाचनको अघिल्लो दिन रियोमा बोल्सोनारोका समर्थकहरूले र्‍याली आयोजना गरेका थिए।

लुलाका समर्थकहरूले दोस्रो चरणमा मतदानमा सहभागिता बढाउन ठूलो र्‍यालीहरू आयोजना गरेका छन्। शनिबार रियो दि जेनेरियोको कोपाकाबाना समुद्रतटमा आयोजित ठूलो जनसभालाई सम्बोधन गर्दै लुलाले यो निर्वाचनलाई राष्ट्रिय सार्वभौमिकताको विषयका रूपमा प्रस्तुत गरे। उनले मतदाताले ब्राजिलको झण्डा चुम्बन गर्ने व्यक्ति र अमेरिकी झण्डा चुम्बन गर्ने व्यक्तिमध्ये एकलाई रोज्नुपर्ने बताए। लुलाको सरकारले अमेरिकाले ब्राजिलको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको छ।

लुला र उनको वर्कर्स पार्टीले यस निर्वाचनलाई लोकतन्त्रका लागि लडाइँका रूपमा प्रस्तुत गरेका छन्। उनीहरूको तर्कमा, जाइर बोल्सोनारोलाई सत्ता कब्जा गर्ने षड्यन्त्रको अभियोगमा दोषी ठहर गरिनुले ‘बोल्सोनारिज्म’ भनिने राजनीतिक धाराले ब्राजिलका लोकतान्त्रिक संस्थाहरूका लागि खतरा सिर्जना गरेको देखाउँछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर