

मध्यावधि निर्वाचनअघि ट्रम्प–एपस्टिन प्रतिवेदन सार्वजनिक, पूर्व मोडल कुलको गम्भीर आरोप


काठमाडौं – अमेरिकी प्रतिनिधि सभाको हाउस जुडिसियरी कमिटीका डेमोक्र्याट सदस्यहरूले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्ड प्रतिस्पर्धी बीट्रिस कुलले बलात्कारको आरोप लगाएको दाबी गरिएको छ। ट्रम्प र जेफ्री एपस्टिनबीचको सम्बन्धबारे गरिएको अनुसन्धानको उक्त प्रतिवेदन मध्यावधि निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक भएको हो।
प्रतिवेदनअनुसार कुलले समितिसमक्ष सन् १९९३ मा न्युयोर्कको प्लाजा होटेलमा आफूमाथि घटना भएको बयान दिएकी छन्। उनका अनुसार २४ वर्षको उमेरमा ‘अमेरिकन ड्रिम पेजेन्ट’मा सहभागी हुन जुरिखबाट न्युयोर्क पुग्दा दिवाभोजमा ट्रम्पसँग भेट भएको थियो। ट्रम्पले भिसा मिलाइदिने र न्युयोर्क युनिभर्सिटीमा भर्ना गराइदिने आश्वासन दिएका थिए। पछि ट्रम्पका प्रतिनिधिले उनलाई कोठामा बोलाएपछि ट्रम्पले जबरजस्ती करणी गरेको र आफ्नो पोसाक च्यातिई चोटपटक लागेको उनको भनाइ प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा कुलका साथै अन्य चार महिलाले ट्रम्पमाथि लगाएका यौन हिंसा र दुर्व्यवहारका पुराना तथा नयाँ आरोप समावेश छन्। सन् २०२३ मा सिभिल जुरीले पूर्व पत्रकार ई जीन क्यारोलको मामिलामा ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो।
ह्वाइट हाउस र ट्रम्पको प्रचार टोलीले सम्पूर्ण आरोप आधारहीन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै खण्डन गरेका छन्। ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले आरोपमा कुनै सत्यता नरहेको र एपस्टिनसँग जोडिएका कुनै पनि मामिलामा राष्ट्रपतिलाई सफाइ दिइसकिएको बताएकी छन्। प्रेस सचिव क्यारोलिन लिभिटले पनि कुलको आरोपलाई निरर्थक भनेकी थिइन्।

सम्बन्धित खबर









