Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सातदोबाटो युथ क्लबले जित्यो मझिया स्मृति कप, तेह्रथुम उपविजेता

Advertisement800×200-1

संखुवासभाको मादी नगरपालिका–३ मा आयोजित प्रथम मझिया स्मृति कप महिला फुटबलको उपाधि सातदोबाटो युथ क्लब, ललितपुरले जितेको छ। फाइनलमा सातदोबाटोले फेदाप गाउँपालिका, तेह्रथुमलाई टाइब्रेकरमा ४–३ गोलले हराएको हो। विजेता सातदोबाटोले तीन लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता फेदापले एक लाख ५० हजार रुपैयाँ पाएको छ।

१५ कात्तिक, काठमाडौं। संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आयोजित प्रथम मझिया स्मृति कप आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको उपाधि सातदोबाटो युथ क्लब, ललितपुरले जितेको छ। शनिबार सम्पन्न फाइनलमा फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुमलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै सातदोबाटोले उपाधि जितेको हो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।

फेदाप उपविजेतामा सीमित भयो। यसअघि शुक्रबारका लागि तय भएको फाइनल खेल निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण स्थगित गरिएको थियो। स्थगित खेल शनिबार सञ्चालन गरिएको हो। फाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी फेदापकी गोलरक्षक करुणा बुढाथोकी प्लेयर अफ द म्याच घोषित भइन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सातदोबाटोकी कप्तान वर्षा मगर घोषित भइन्। उनले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

प्रतियोगितामा आठ टोली सहभागी थिए। स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह–आयोजनामा सञ्चालन भएको हो। समापन समारोहमा प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की प्रमुख अतिथि तथा प्रतिष्ठानका अध्यक्ष रामकुमार जिमी सभाध्यक्ष रहेका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर