

भोटेकोशी-त्रिशूली बाढी: अस्थायी आवास निर्माणका लागि ४३ संस्था इच्छुक


भोटेकोशी-त्रिशूली बाढीले घरबारविहीन बनाएका मानिसहरूका लागि अस्थायी आवास बनाउन ४३ वटा संस्थाले इच्छा जाहेर गरेका छन्। अधिकारीहरूले बीबीसीलाई बताएका छन् कि ती संस्थाहरूसँग आवास निर्माणसम्बन्धी सम्झौताका लागि अहिले अन्तिम तयारी भइरहेको छ। एक अधिकारीले भने, “हेरौँ अन्तिम छनोटपछि कति हुन्छ?”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार इच्छुक संस्थाहरूसँग अस्थायी आवास निर्माणका विषयमा सम्भवतः बुधवार “नतिजामुखी” छलफल गर्ने तयारी छ। शरद् याम सुरु भइसक्दा बाढीपीडितहरूको भरपर्दो वासस्थानको प्रबन्धबारे चिन्ता व्यक्त भइरहेको छ। गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोट जिल्लामा व्यापक क्षति पुर्याएको छ।
उप्रेतीका अनुसार विकास साझेदार संस्थाहरूसँग हुने बैठकले “महत्त्वपूर्ण” निर्णय गर्ने छ। उनले भने, “अस्थायी आवास निर्माणसम्बन्धी थप विषयलाई हामी त्यस दिनको बैठकबाट टुङ्ग्याउँछौँ।” बैठकले जग्गा नहुनेका लागि जग्गा प्राप्तिलगायतका विषयमा निर्णय गर्नेछ।
अहिलेको अनुमान अनुसार ४०० देखि ४५० वटा अस्थायी आवास बनाउनुपर्ने हुन सक्ने छ। उप्रेतीले भने, “रसुवामा प्रभावित क्षेत्रमा ठाउँ नभएर धेरै मानिसहरू अहिले नुवाकोटकै बसिरहनुभएको छ।” प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीका अनुसार बाढीप्रभावित मानिसहरूका लागि अस्थायी बसोबासको प्रबन्ध मिलाउने काम निरन्तरता पाइरहेको छ।

सम्बन्धित खबर









