Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट तीन लाख रुपैयाँ सहयोग

Advertisement800×200-1

एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट करिब तीन लाख रुपैयाँ संकलन भएको छ। सिड्नीमा यात्रा रन क्लबको पहलमा गत २० सेप्टेम्बरमा भएको विशेष दौडमा २५० भन्दा बढी धावक सहभागी भएका थिए। संकलित रकम एरिकाको खातामा जम्मा भइसकेको छ र यो प्रशिक्षण, फिजियोथेरापी, चोटपटक रोकथाम तथा पुनर्स्थापनामा खर्च गरिनेछ। १८ कात्तिक, काठमाडौं।

एसियाली खेलकुदकी रजत पदक विजेता नेपाली कराते खेलाडी एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट करिब तीन लाख रुपैयाँ सहयोग संकलन भएको छ। अस्ट्रेलियाको सिड्नीमा आधारित यात्रा रन क्लबको पहलमा आयोजित सहयोग अभियानबाट उक्त रकम संकलन गरिएको हो। सहयोग अभियानअन्तर्गत गत २० सेप्टेम्बरमा सिड्नीमा विशेष दौड आयोजना गरिएको थियो। आयोजकका अनुसार दौडमा २५० भन्दा बढी धावक प्रत्यक्ष सहभागी भएका थिए।

अभियानमा जोडिएका समर्थक, शुभेच्छुक तथा अन्य व्यक्तिसहित ५०० भन्दा बढीको सहभागिता र उपस्थिति रहेको थियो। अभियानमा पूर्व राष्ट्रिय ट्रायथलन खेलाडी नितेश मानन्धरले विशेष पहल तथा समन्वय गरेका थिए। नेपालतर्फ राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठले समन्वयमा सहयोग गरेकी थिइन्। गोफन्डमीमार्फत संकलित करिब तीन लाख रुपैयाँ एरिकाको खातामा प्रत्यक्ष जम्मा भइसकेको आयोजकले जनाएको छ।

उक्त रकम कुनै संस्था वा मध्यस्थ व्यक्तिमार्फत नभई गोफन्डमीबाटै खेलाडीको खातामा पठाइएको हो। प्राप्त रकम एरिकाको खेल विकास तथा आगामी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा खर्च गरिनेछ। नियमित प्राविधिक प्रशिक्षणसँगै आवश्यकताअनुसार शारीरिक क्षमता विकास, फिजियोथेरापी, चोटपटक रोकथाम, पुनर्स्थापना तथा रिकभरी सहयोगमा रकम उपयोग गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख छ। यात्रा रन क्लब र नितेश मानन्धरले आगामी दिनमा आवश्यकताअनुसार अन्य नेपाली खेलाडीको खेल विकासमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसका लागि नेपालमा राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठसँग समन्वय गरेर अघि बढ्ने जनाइएको छ। विदेशमा रहेका नेपाली समुदाय, पूर्वखेलाडी र खेलप्रेमीलाई नेपाली खेलाडीको विकाससँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर