Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

लगातार सातौं हारपछि पनि ओमान शीर्ष चारमा, नामिबियाले प्लेअफ खेल्ने

Advertisement800×200-1

ओमानले यूएईसँग ७ विकेटले हार बेहोरे पनि नेट रन रेटका आधारमा आईसीसी लिग–२ को शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै स्थान पक्का गरेको छ। यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २२६ रन बनाएको खेलमा ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १८४ रन मात्र बनायो। शीर्ष चारमा नपरेका नेपाल, नामिबिया, क्यानडा र यूएईले अब डिसेम्बर ४ देखि २१ सम्म नेपालमा हुने विश्वकप छनोट प्लेअफ खेल्नेछन्। १८ कात्तिक, काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश गरेको छ। यूएईविरुद्ध बुधबार भएको अन्तिम खेलमा हार बेहोरे पनि आवश्यक रनको सीमा पार गरेर नेट रन रेटमा नामिबिया भन्दा अगाडि रहँदै ओमानले शीर्ष चारमा स्थान पक्का गरेको हो।

लिग–२ को २०२४–२०२६ चक्रअन्तर्गत अन्तिम खेलमा यूएईले दिएको २२७ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो। १०३ रन पूरा गरेपछि ओमान शीर्ष चारमा रहने निश्चित भएको थियो। खेलअघि ओमानलाई जित वा नेट रनरेटमा नामिबियाभन्दा अगाडि रहने गरी ठूलो अन्तरको हारबाट बच्नुपर्ने अवस्था थियो। पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२६ रन बनाएको थियो। ओमानका शाकिल अहमदले १० ओभरमा ४२ रन खर्चेर तीन विकेट लिए। यूएईका लागि बासिल हमिदले सर्वाधिक ४३ रन बनाए।

जवाफमा ओमानले खराब सुरुवात गर्दै ११औं ओभरसम्म २८ रन बनाउँदा तीन विकेट गुमाएको थियो। हम्माद मिर्जा र विनायक शुक्लाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि टोलीले नियमित अन्तरमा विकेट गुमायो। ६८ रनमा पाँच विकेट गुमाएको ओमानका लागि मुजीबुर अली र नारायण सैशिवले महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई १०३ रनको सीमापारि पुर्‍याए। लिग–२ को शीर्ष चारमा अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्सले यसअघि नै स्थान पक्का गरिसकेका थिए। अमेरिका ४९ अंकसहित तालिकाको शीर्ष स्थानमा रह्यो। ओमानले अन्तिम स्थान सुरक्षित गरेसँगै यी चार टोलीले विश्वकप छनोटमा सोझै प्रवेश पाएका छन्। शीर्ष चारमा पर्न नसकेका नेपाल, नामिबिया, क्यानडा र यूएईले अब विश्वकप छनोट प्लेअफ खेल्नेछन्। उनीहरूसँगै च्यालेन्ज लिग समूहबाट छनोट भएका जर्सी, इटाली, कुवेत र युगान्डाले पनि प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। प्लेअफ प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आयोजना हुनेछ। आठ टोलीबीच हुने प्रतियोगिताबाट चार टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन्। त्यसपछि छनोट प्रतियोगिताबाट सन् २०२७ को ओडीआई विश्वकपमा पुग्ने टोलीको टुंगो लाग्नेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर