

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु


पाकिस्तानको पञ्जाब प्रान्तको पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु भएको छ र ३३ जना घाइते भएका छन्। मुल्तानबाट कसुरतर्फ जाँदै गरेको बस देपालपुर सडकखण्डमा विपरीत दिशाबाट आएको ट्रकसँग ठोक्किएको जिल्ला प्रशासनले जनाएको छ। उद्धार सेवा ११२२ का अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो।
घाइतेमध्ये आठ जनालाई सामान्य चोट लागेको छ भने २५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। उद्धारकर्मीहरूले क्रेन तथा भारी उपकरण प्रयोग गरी तीन घण्टासम्म उद्धार कार्य गरेका थिए। पञ्जाबमा अक्टोबर महिनामा मात्रै ४४ हजार ७९७ सडक दुर्घटना हुँदा ४६४ जनाको मृत्यु र २३ हजार ५४३ जना गम्भीर घाइते भएको उद्धार विभागले जनाएको छ।
उक्त महिनामा उद्धार सेवा ११२२ ले दुई लाख ३१ हजार ५६ आपत्कालीन घटनामा सेवा दिएको थियो। यस अवधिमा एक हजार ७२६ आगलागी र ९४ डुब्ने घटना पनि अभिलेख गरिएको थियो। प्रान्तीय राजधानी लाहोरमा सबैभन्दा बढी सात हजार ८७४ सडक दुर्घटना भएका थिए।

सम्बन्धित खबर









