Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

तराईको तिहार ‘सोहरैया’मा घरघरमा भित्ते चित्र: महिलाले धानेको परम्परा

Advertisement800×200-1

तिहार नजिकिँदै गर्दा रौतहटकी शान्ति देवी हरेक वर्ष बिहानैदेखि घरको आँगन र भित्ता सिँगार्न व्यस्त रहन्छिन्। आमा र हजुरआमाबाट सिँगार्ने सीप सिकेको उनी बताउँछिन्। उनका अनुसार भित्तामा कोरिने प्रत्येक आकृतिले प्रकृतिको सम्मान गरेको हुन्छ र जीवनको गतिशीलता झल्काउँछ। बर्खाको हिलो मैलो सकिएपछि घरलाई नयाँ रूप दिने परम्परा रहेको उनी बताउँछिन्। भित्तामा बाघ, हरिण, चराचुरुङ्गी, फूल र देवीदेवताका आकृति बनाइन्छन्। यस्ता चित्रले घर सुन्दर बनाउनुका साथै जीवन सधैँ रङ्गिन र उज्यालो रहोस् भन्ने विश्वास पनि बोकेका मानिसहरू बताउँछन्।

खेतबारीमा धानका बाला झुलिरहँदा तिहार अर्थात् दीपावलीको रौनक नेपालका अन्य भागमा झैँ तराई मधेशमा पनि बढ्छ। घर सफा गर्ने, रातो–पहेँलो माटोले लिपपोत गर्ने र भित्तामा विभिन्न आकृति बनाउने चलन छ। पुस्तौँदेखि ग्रामीण महिलाले जोगाउँदै आएको यो परम्पराले तराईको मौलिक लोकसंस्कृति, जीवनशैली र प्रकृतिसँगको सम्बन्ध झल्काउँछ र घरको शोभा पनि बढाउँछ। तिहारलाई स्थानीय भाषामा ‘सोहरैया’ भनिन्छ। सोहरैयाको तयारी दशैँलगत्तै सुरु हुन्छ। घर लिपपोत र भित्ते चित्र तिहार पर्व कृषि कर्म र ग्रामीण जीवनशैलीसँग जोडिएको पाइन्छ।

यो बेला घर आँगन, भकारी, कृषि औजार र पशुधनको सरसफाइ तथा सजावट गरिन्छ। घर सफा र स्वच्छ राख्दा लक्ष्मीको बास हुने जनविश्वास छ। यही मान्यताअनुसार माटोका घर लिपपोत गर्ने र भित्तामा विभिन्न आकृति बनाउने परम्परा पुस्तौँदेखि चल्दै आएको छ। सर्लाहीकी विन्दु देवीका लागि भने यो परम्परा धार्मिक आस्था र शुभ साइतसँग पनि जोडिएको छ। दीपावलीमा माता लक्ष्मीलाई घरमा भित्र्याउन भित्ताहरू चिटिक्क पार्ने चलन रहेको उनी बताउँछिन्।

उनका अनुसार विभिन्न आकृतिले शुभ कार्यको सुरुआत, सद्भाव र शान्त वातावरणको सङ्केत गर्छन्। यी चित्र घरको सजावट मात्र नभई कुल परम्परा र शुभ दिनको आगमनका प्रतीक पनि हुन्। भोजपुरी प्रतिष्ठानकी अध्यक्ष एवं सांस्कृतिक विषयकी जानकार अनिता साहका अनुसार सोहरैया पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व घर लिपपोत र भित्ते चित्रसँग गहिरो रूपमा जोडिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर