Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

कार्यस्थलदेखि लोकप्रिय संस्कृतिसम्म महिला आक्रोशको दृष्टिकोणमा परिवर्तन

Advertisement800×200-1

सङ्गीतकर्मी चेस गालिया आफ्नो रिसलाई दबाउने गर्थिन् किनकि मानिसहरूले आफूलाई कतै “उन्मादी” वा “काम गर्न गाह्रो व्यक्ति” को रूपमा लिन्छन् कि भन्ने डर लाग्थ्यो। “मानसिक बोझदेखि कार्यस्थलमा हुने लैङ्गिक विभेद वा अझ नराम्रो – महिला हिंसासम्म,” गालिया भन्छिन्, “हामीले कति धेरै कुराहरू स्वीकार गरेका छौँ र कति धेरै कुरा मुख थुनेर सहन्छौँ भन्ने कुरा हामीलाई हेक्कासमेत हुँदैन।” तर अहिले त्यसलाई सहज रूपमा प्रकट हुन दिने गरेको उनी सुनाउँछिन्। “यदि कसैले बाटोमा जिस्कायो भने मलाई रिस उठ्छ। मैले कसैलाई रत्तीभर वास्ता गर्दिनँ।” ३४ वर्षीय गालियाजस्ता महिलाहरूले अहिले आफ्नो आक्रोश पहिलेको तुलनामा निकै खुलेर व्यक्त गरिरहेका छन्। मनोविद् डा. टारा ब्राच भन्छिन्, “मुख्य कुरा के हो भने, आक्रोशको पछाडि हामीलाई प्रिय लाग्ने वा हामीले महत्त्व दिने कुनै कुरा लुकेको हुन्छ। आक्रोशले एउटा सन्देशवाहकको रूपमा काम गर्छ, ती कुरा जोगाउन, अन्यायको सामना गर्न, सीमाहरू निर्धारण गर्न र परिवर्तन ल्याउन आवश्यक ऊर्जा प्रदान गर्छ।”

मनोचिकित्सक जेनिफर कक्सले रिसको विषयमा अनुसन्धान गर्न थालिन्। उनले आफ्ना महिला सेवाग्राहीहरूले रिसलाई दबाएर राख्नु नै उनीहरूका कतिपय शारीरिक स्वास्थ्य समस्याहरूको मूल कारण हो भन्ने शङ्का व्यक्त गरिन्। “माइग्रेन, पाचन प्रणालीसम्बन्धी समस्या, हाडजोर्नी तथा मांसपेशीका समस्या र रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्याहरू लिएर आउने महिलाहरूमा एउटा यस्तो प्रवृत्ति देखियो, अन्ततः त्यसलाई बेवास्ता गर्न असम्भव थियो,” उनी भन्छिन्। कक्सले सामूहिक सत्रहरूको आयोजना गरिन्, जसमा धेरै महिलाहरूले आफूभित्र गुम्स्याएर राखेको रिस बाहिर निकाल्ने मौका पाए।

“हामीलाई ‘असल केटी’ बन्नुपर्छ भन्ने एउटा वाहियात धारणाका साथ हुर्काइएको छ… हामी असल, विनम्र, दयालु, अरूको ख्याल राख्ने र हेरविचार गर्ने स्वभावको हुनुपर्छ भन्ने हाम्रो मनमस्तिष्कमा गहिरोसँग बसाइएको छ।” डा. टारा ब्राच रिसको पनि आफ्नो ठाउँ हुन्छ भन्नेमा सहमत छिन्। “यो त्यस बेला हानिकारक हुन्छ जब यसले हामीलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिन्छ वा जब हामी अरूलाई हानी पुर्‍याउने व्यवहार गर्छौँ।” ब्राचले त्यसलाई प्रभावकारी रूपमा सम्हाल्न ‘सचेतता’ विशेष गरी ‘आरएआईएन’ रणनीति अपनाउन सुझाव दिन्छिन्।

कार्यस्थलमा महिला आक्रोशको विषयमा यान डाङका अनुभवमा “रचनात्मक आक्रोश” ले कार्यस्थलमा महिलाहरूको स्थिति सुधार्न सक्छ। “जब महिलाहरूलाई नियमबारे जानकारी हुन्छ तब उनीहरू ती नियम सिक्न निकै सिपालु हुन्छन्। तर कर्पोरेट क्षेत्रका नियमहरू नितान्त फरक हुन्छन्।” यद्यपि, पछिल्लो अध्ययन सन् २०२० को छ, जसले औँल्याएको छ – आक्रोश प्रकट गर्ने महिलाहरूलाई कमजोर हैसियत वा दर्जाको निम्ति हकदार मानिन्छ, तर त्यो धारणा पुरुषहरूको हकमा लागू हुँदैन।

सङ्गीतकार चेस गालियाका लागि, सङ्गीत उद्योगमा भोगेका महिला-द्वेषी व्यवहारका साथै यौन उत्पीडनका अनुभवहरूबारे अन्य महिलाहरूसँग खुलेर कुरा गर्न पाउनुले उनलाई आफूभित्रको निराश भावलाई बुझ्न मद्दत पुर्याएको छ। “मलाई लाग्छ, हामी लामो समयदेखि आक्रोशित थियौँ, तर अहिले सामाजिक सञ्जालका कारण एक-अर्कासम्म पहुँच बनेको छ,” उनले भनिन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर