

कार-टी सेल थेरापीको सफल परीक्षणपछि थप के गरिँदैछ, बिरामीलाई कसरी सघाउ पुग्छ?


नेपालमा उत्पादन गरिएको कार-टी सेल थेरापीमार्फत् एकजना ब्लड क्यान्सर (एक्यूट लिम्फोब्लास्टिक ल्युकेमिया)का बिरामीमा उपचार सफल भएपछि अब थप मानिसमा गर्ने तयारी भइरहेको चिकित्सकहरूले बताएका छन्। यो परीक्षण अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले स्वीकृत गरेको प्रक्रियामा आधारित गरिएको हो। कलेजोरोग विशेषज्ञ डाक्टर सुधांशु केसीले भने, “हामीले एकजना बिरामीमा यो प्रयोग गर्दा कुनै जटिलता देखिएन। उनमा जुन क्यान्सर फैलिएको थियो त्यो १४ दिनमा सबै निको भएको पाइयो।”
डाक्टर केसीले थपे, “अब हाम्रो योजना चाहिँ अरू दुई जनालाई सीएसआर अन्तर्गत १५ लाख रूपैयाँमा गर्ने योजना छ। यसको लागत डीडीए (औषधि व्यवस्था विभाग) ले ३० हजार डलरसम्म लिन पाउने भनेर तोकिदिएको छ। नेपालमा ४० देखि ५० लाख रूपैँयासम्म लाग्छ होला।” उपचार गरिएका पहिलो व्यक्तिमा भने उपचार नि: शुल्क गरिएको उनले बताए। चिकित्सकहरूले भनेका छन् कि ती व्यक्तिमा उपचारपछि शरीरमा पुन: फर्किन्छ कि फर्किँदैन वा कस्तो भएको छ भन्ने हेर्न कम्तीमा ६ महिनासम्म बेलाबेला ‘फलोअप’ गर्नुपर्नेछ।
अहिलेको क्षमता अनुसार एक महिनामा दुईजनामा सम्म कार-टी सेल थेरापीबाट उपचार गर्न सकिने चिकित्सकहरूको भनाइ छ। तर मागहरू बढ्न थालेपछि क्षमता पनि बढाउन सकिने उनीहरूको भनाइ छ। सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सीआरएम) नेपालले देशमै कार-टी सेल विकसित गरी उत्पादन गरेको हो। कार-टी सेल थेरापी उपचारमा प्रत्यक्ष संलग्न रहेका डाक्टर अन्जन श्रेष्ठले बिरामीको उपचारका लागि विभिन्न कुराहरू भर पर्ने बताए।
डाक्टर श्रेष्ठले भने, “हाम्रो चिकित्सकीय दृष्टिकोणबाट उपयुक्त बिरामीहरूको छनोट गर्न आवश्यक छ। तर यसको प्रयोग र उपलब्धता उत्पादन गर्ने प्रयोगशालाको क्षमता र सुविधाहरूमा पनि भर पर्छ।” उनले कार-टी सेल थेरापीको विकासका लागि आवश्यक उत्पादन प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए। “हालसम्म विश्वका ७-८ वटा देशमा मात्रै कार-टी सेल उत्पादन तथा विकास गर्ने क्षमता छ र ती मध्ये हाम्रो देश पनि एउटा हो,” उनले भने।

सम्बन्धित खबर









