

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते


मध्य जापानको सिजुओका प्रिफेक्चरमा ५.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन्। भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै क्षेत्रीय रेल सेवा र सिन्कान्सेन बुलेट रेल सञ्चालन अवरुद्ध भएको छ। आइची र सिजुओका क्षेत्रमा घाइते भएकामध्ये ९० वर्षीया एक महिला ओछ्यानबाट खस्दा काँधमा चोट लागेको अधिकारीहरूले बताएका छन्।
२२ कात्तिक, टोकियो (रासस/एएफपी) अनुसार, मध्य जापानमा आइतबार बिहान १:०४ बजे भूकम्प गएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन। भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त नभए पनि पसलका झ्यालका सिसा फुटेका छन् भने दराज र ¥याकमा राखिएका सामान खसेका छन्। आइची क्षेत्रका एक आपत्कालीन सेवा अधिकारीका अनुसार सामान्य चोटपटक लागेका १६ जनाबारे जानकारी प्राप्त भएको छ।
छिमेकी सिजुओका क्षेत्रका अधिकारीहरूले कम्तीमा तीन महिलाले उपचारका लागि अस्पताल पुगेको बताएका छन्। तीमध्ये ९० वर्ष उमेर समूहकी एक महिला भूकम्पको धक्काले ओछ्यानबाट खस्दा काँधमा चोट लागेको थियो। स्थानीय पत्रिका चुनिची सिम्बुन र तोकाई टेलिभिजनले छुट्टाछुट्टै समाचारमा आइची र सिजुओका क्षेत्रमा कम्तीमा २४ जना घाइते भएको जनाएका छन्।
भूकम्पका कारण आइतबार बिहान क्षेत्रीय रेल सेवासहित सिन्कान्सेन बुलेट रेलको सञ्चालनमा समेत ढिलाइ र अवरोध भएको थियो। भूकम्पको धक्का पश्चिममा ओसाकासम्म महसुस गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार ओसाकामा एक विदेशी नागरिक भूकम्पको धक्काले आत्तिएर आफ्नो अपार्टमेन्टको दोस्रो तलाबाट खसेपछि अस्पताल भर्ना भएका छन्। यसबारे ओसाका अधिकारीबाट तत्काल थप जानकारी प्राप्त हुन सकेको छैन।

सम्बन्धित खबर









