

फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलिएको छ?


फ्रान्समा विद्यार्थीले सुरु गरेको आन्दोलन ४५ दिनदेखि जारी छ र देशभर १ लाख ४६ हजारदेखि २ लाख ५० हजारसम्म मानिस प्रदर्शनमा उत्रिएका छन्। फ्रान्समा सेप्टेम्बर १५ देखि अक्टोबर ३० सम्म १ हजार २०० भन्दा बढी प्रदर्शन र दङ्गा भएका छन्, र नाबालिगसहितको पक्राउमा अत्यधिक बल प्रयोगको आलोचना भएको छ। फ्रान्सबाट फैलिएको विरोध लहर युरोपका ३० देशमा पुगेको छ, जहाँ महँगी, न्यून ज्याला र आवासको अभावविरुद्ध १ हजार ७०० भन्दा बढी प्रदर्शन भएका छन्।
जीर्ण कक्षाकोठाहरूको विरोधमा माध्यमिक तहका विद्यार्थीहरूले पहिलोपटक आन्दोलन सुरु गरेको करिब दुई महिना बितिसक्दा पनि फ्रान्सको विरोध प्रदर्शन मत्थर हुने कुनै सङ्केत देखिएको छैन। सेप्टेम्बरको मध्यदेखि हालसम्म फ्रान्सको नेतृत्वमा युरोपका ३१ देशमा महँगी र जीवनयापनको लागतविरुद्ध १ हजार ७०० भन्दा बढी प्रदर्शनहरू भइसकेका छन्। शनिबार पेरिसमा ४६ हजारसहित देशभर १ लाख ४६ हजार मानिस प्रदर्शनमा उत्रिएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ। तर, ट्रेड युनियनहरूले भने देशभर २ लाख ५० हजार र पेरिसमा ७५ हजार मानिस सहभागी भएको दाबी गरेका छन्।
अघिल्ला हप्ताहरूको तुलनामा सहभागीको सङ्ख्या घटे पनि प्रहरीले पेरिसमा प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठी प्रहार गरेको छ। साथै, फ्रान्सको तेस्रो ठूलो सहर लियोनको मध्य भागमा सडक अवरुद्ध गरिरहेका सयौँ मानिसमाथि प्रहरीले अश्रुग्यासका सेल प्रहार गरेको छ। युनियनले आयोजना गरेको र्यालीमा अनुमानित ५ लाख ७५ हजार मानिस सहभागी भएको केही दिनपछि शनिबार करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रदर्शनको दायरा फराकिलो हुँदै इन्धनको उच्च मूल्यदेखि तलब र सामाजिक आवाससम्मका मुद्दाहरू यसमा समेटिएका छन्।
कतिपय स्थानमा प्रदर्शनका क्रममा लुटपाट र हिंसासमेत भड्किएको छ। प्रदर्शनकारीविरुद्ध ब्यारिकेड, अश्रुग्यास र लाठी प्रयोग गर्ने प्रहरीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लागेको छ। अल जजिराले युरोपभर दङ्गासहितका प्रदर्शनहरू कहाँ-कहाँ भए भन्ने नक्साङ्कन गरेको छ। फ्रान्सबाट सुरु भएको थियो प्रदर्शन आर्म्ड कन्फ्लिक्ट लोकेशन एन्ड इभेन्ट डेटाको तथ्याङ्क विश्लेषणअनुसार सेप्टेम्बर १५ देखि अक्टोबर ३० को बीचमा शिक्षा, सार्वजनिक सेवा र जीवनयापनको लागतलाई लिएर फ्रान्सभर १०० वा सोभन्दा बढी मानिस सहभागी भएका १ हजार २०० भन्दा बढी प्रदर्शन तथा दङ्गाहरू भएका छन्।

सम्बन्धित खबर









