

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार


बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को बुकर पुरस्कार जितेका छन् र ८१ वर्षको उमेरमा सबैभन्दा पाका विजेता बनेका छन्। लन्डनमा सोमबार आयोजित समारोहमा ह्यारिसनले ‘द इन्ड अफ एभ्रिथिङ’का लागि ५० हजार पाउन्ड पुरस्कार पाए। निर्णायक समितिले १६३ पुस्तकबाट छानिएका ६ अन्तिम प्रतिस्पर्धीमध्ये ह्यारिसनको उपन्यासलाई सर्वसम्मत विजेता घोषणा गरेको हो। २४ कात्तिक, काठमाडौं।
ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’ (The End of Everything) मार्फत उक्त पुरस्कार जितेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ। विज्ञान कथा तथा काल्पनिक विधामा कलम चलाउँदै आएका ह्यारिसनको यो उपन्यास विनाशपछिको संसारमा आधारित छ। उपन्यासमा रहस्यमय जीवहरूको आक्रमणपछि सामाजिक संरचना ध्वस्त भएको भविष्यको बेलायतको तटीय क्षेत्रको कथा प्रस्तुत गरिएको छ।
ह्यारिसनले सन् २००८ को विश्वव्यापी आर्थिक संकटबाट प्रभावित भएर यस उपन्यासको कथा तयार पारेको बताएका छन्। पुरस्कार ग्रहण गर्दै ह्यारिसनले आफूले बुकर पुरस्कार जित्ने अपेक्षा नगरेको प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, ‘तपाईंहरू जीवन परिवर्तन भएको कुरा सहजै भन्नुहुन्छ, तर वास्तवमै यस्तो हुँदा अनौठो लाग्दो रहेछ। अन्ततः आफूलाई एक वास्तविक लेखक महसुस गरिरहेको छु, यद्यपि ममा अझै आत्मविश्वासको कमी छ।’
यस वर्षको निर्णायक समितिको नेतृत्व इतिहासकार मेरी बियर्डले गरेकी थिइन्। समितिमा लेखक रेमन्ड एन्ट्रोबस, प्याट्रिसिया लकवुड, समालोचक रेबेका लिउ तथा संगीतकार जार्भिस ककर सदस्य थिए। निर्णायक समितिले १६३ वटा पुस्तकबाट छनोट गरिएका ६ वटा अन्तिम प्रतिस्पर्धीमध्ये ह्यारिसनको उपन्यासलाई सर्वसम्मत रूपमा विजेता घोषणा गरेको हो।
बुकर पुरस्कार सन् १९६९ देखि प्रदान गर्न थालिएको अंग्रेजी भाषामा लेखिएका साहित्यिक कृतिमध्ये प्रतिष्ठित पुरस्कारका रूपमा चिनिन्छ। सन् २०१४ देखि बेलायत वा आयरल्यान्डमा प्रकाशित अंग्रेजी भाषाका कृतिका लागि राष्ट्रियता नहेरी लेखकहरूलाई प्रतिस्पर्धामा सहभागी गराउने व्यवस्था गरिएको छ। यसअघि सन् २०१९ मा ७९ वर्षको उमेरमा मार्गरेट एटवुडले बुकर पुरस्कार जितेकी थिइन्। ह्यारिसनले यसपटक उनको कीर्तिमानलाई उछिन्दै पुरस्कारको इतिहासमा सबैभन्दा पाका विजेताको स्थान बनाएका छन्।

सम्बन्धित खबर









