

गादी आइजनकोट: नेतन्याहूका प्रमुख प्रतिद्वन्द्वी जसले इजरेली सरकार गठनको प्रयास गरिरहेका छन्


इजरेलका राष्ट्रपतिले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूका सबैभन्दा बलिया प्रतिद्वन्द्वी गादी आइजनकोटलाई नयाँ सरकार गठन गर्ने पहल थाल्न भनेका छन्। हालै सकिएको आमचुनावमा कुनै पनि नेताले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि इजरेलमा राजनीतिक गतिरोध उत्पन्न भएको छ। इजरेली संसद्मा नेतन्याहूको समूह वा आइजनकोटको समूह कसैले पनि बहुमत ल्याउन नसकेपछि राष्ट्रपति आइज्याक हेरजोगले विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेका थिए।
साताभरि सबै राजनीतिक दलसँग परामर्श गरेपछि आइजनकोटलाई सरकार गठन गर्ने पहिलो अवसर दिने निर्णय गरेको राष्ट्रपतिले बताएका छन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार उनले आफ्नो निर्णयबारे आइजनकोट र नेतन्याहू दुवैलाई जानकारी गराइसकेका छन्। विज्ञप्तिमा नयाँ संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको प्रतिनिधिसँगको परामर्शपछि आइजनकोटले प्रधानमन्त्री बन्न ६७ जना सांसदको समर्थन पाएका छन् भने नेतन्याहूले ४६ जनाको समर्थन प्राप्त गरेका छन्।
आइजनकोटले नयाँ सरकार गठनका लागि २८ दिनको समय पाउने छन्। आवश्यक परे उनलाई थप १४ दिनको समय पनि दिन सकिने छ। इजरेली पूर्वसेना प्रमुख गादी आइजनकोटले अप्रत्याशित रूपमा त्यस्ता व्यक्तिलाई चुनौती दिएका छन्, जसले करिब तीन दशकदेखि इजरेलको राजनीतिमा प्रमुख भूमिका निर्वाह गर्दै आएका छन्। उनले सन् २०२२ मा न्याश्नल युनिटी पार्टीबाट संसद् सदस्य बनेपछि औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए।
आइजनकोटको चुनावी अभियानका वाचामध्ये एउटा अक्टोबर ७ को हमलामाथि अनुसन्धान गर्नु हो, जसमा इजरेली सरकारको सम्भावित विफलतालाई पनि हेरिनेछ। उनले अति रूढिवादी यहुदी समुदाय र अरब इजरेलीहरूलाई दिइँदै आएको अनिवार्य सैन्य सेवाबाट छुट दिने व्यवस्थाको अन्त्य गर्न पनि चाहेका छन्।

सम्बन्धित खबर









