अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको छ। अमेरिका र इरानबीचको युद्ध अन्त्य हुनसक्ने आशा बढेसँगै तेलको मूल्यमा गिरावट आएको हो। अन्तर्राष्ट्रिय बजारको प्रमुख मानक मानिने ब्रेन्ट नर्थ सी क्रुडको मूल्य अगस्टमा पहिलोपटक प्रतिब्यारेल ९० डलरभन्दा तल पुगेको छ। ब्रेन्ट क्रुडको मूल्य ३.१ प्रतिशतले घटेर प्रतिब्यारेल ८९.६६ डलर कायम भएको छ।
त्यस्तै, अमेरिकी बजारको प्रमुख मानक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ८४.८६ डलरमा झरेको छ। यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताएका थिए। यद्यपि उनले इरानमाथि थप सैन्य आक्रमण गर्ने सम्भावनालाई भने खुला राखेका थिए।