

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्धको महाभियोग प्रयास संसदमा असफल


संसदको अनुमति नलिई इरानविरुद्ध युद्ध सुरु गरेको आरोप लगाउँदै अमेरिकी रक्षामन्त्री पिट हेग्सेथमाथि महाभियोग लगाउने प्रयास त्यहाँको संसदमा असफल भएको छ। तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका बहुमत सदस्यले महाभियोगसम्बन्धी प्रयासलाई समितिमा पठाउने पक्षमा मतदान गरेका छन्। यससँगै केन्टकीका रिपब्लिकन सांसद थोमस मासीले अघि सारेको उक्त प्रयास तत्कालका लागि समाप्त भएको छ।
छ महिनापछि पहिलो पटक पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हेग्सेथले महाभियोगको प्रयासलाई ‘प्रहसन’ र ‘अन्तरघात’को सङ्ज्ञा दिएका छन्। प्रभावकारी रूपमा समाप्त भएको महाभियोगको प्रयास पारित हुने सम्भावना निकै कम देखिएको थियो, किनकि त्यसका लागि राष्ट्रपति डोनल्ड ट्रम्पको विपक्षमा उभिन अन्य केही रिपब्लिकन सांसद पनि तयार हुनुपर्ने आवश्यकता थियो।
मङ्गलवार उक्त प्रयासलाई रिपब्लिकन नेतृत्वको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको न्यायिक समितिमा पठाउने प्रस्तावको विपक्षमा मतदान गर्ने मासी एक मात्र रिपब्लिकन सांसद थिए। उक्त प्रयासको पक्षमा २११ र विपक्षमा २०४ मत परेको थियो। एघार जना डेमोक्र्याटसहित एक दर्जनभन्दा बढी सांसद मतदानमा अनुपस्थित रहे।
राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै मतदानको परिणामको स्वागत गरेका छन्। उनले महाभियोगको प्रयास ‘लज्जास्पद रूपमा विफल भएको’ टिप्पणी गरेका छन्। मासीले मतदानपछि आफू यो परिणामबाट ‘आश्चर्यचकित नभएको’ तर ‘निराश भएको’ बताएका छन्।

सम्बन्धित खबर









