

किन अचानक असिना पानी पर्यो, कहिलेबाट हुन्छ मौसममा सुधार


बुधवार बिहानसम्म घाम लागिरहेको काठमाण्डू उपत्यकासहित देशका कैयौँ स्थानमा मध्याह्नपछि कतै भेल बग्ने पानी त कतै असिना पानी पर्यो। भाइटीका लगाउन हिँडेका र लगाएर फर्कँदै गरेका कैयौँ मानिसहरू बीच बाटोमै केही समय रोकिनुपर्ने अवस्था आयो। काठमाण्डूमा ३१.२ मिलिमिटरसम्म वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार भाइटीकाको दिन काठमाण्डू उपत्यका र वरिपरिका पहाडी भूभागसहित कोशी, गण्डकी र लुम्बिनीका पहाडी र हिमाली भूभागमा वर्षा, असिना पानी र हिमपात भएको छ। मौसमविद् मनोज भट्टका अनुसार नेपालमा वायुमण्डलको माथिल्लो सतहमा रहेको पश्चिमी वायु चिसो हुँदा असिना पानी र हिमपात भएको हो। “माथिल्लो वायुमण्डलबाट आउने पश्चिमी वायुले ल्याउने जलवाष्प हाम्रो हिमाली र पहाडी भूभागमा त्यो मिसिँदा वर्षा हुन्छ,” भट्टले भने।
मौसमविद्हरूका अनुसार नेपालमा पोस्ट मनसुन अर्थात् मनसुन सकिएपछिका केही महिना पश्चिमी वायु सक्रिय भइहाल्दैन। नेपालमा डिसेम्बरबाट मात्रै पश्चिमी वायु सक्रिय हुने मौसमविद्हरू बताउँछन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले बिहीवारबाटै मौसममा सुधार हुने पूर्वानुमान गरेका छन्। “भोलीबाट मौसम सुधार हुँदै जाने देखिन्छ,” अधिकारीले भनेका छन्।
बुधवार असिना र पानी परे पनि अबको तीन दिन मौसम सफा नै रहने विभागले जनाएको छ। मौसमविद् गिरीका अनुसार यो लगातारको पानी होइन र वरिपरिको मौसम बिस्तारै सुधार हुँदै जाने हो। जल तथा मौसम विज्ञान विभागले बाली भित्र्याउनका लागि बिहीवारबाट पुनः मौसम अनुकूल बन्दै जाने बताएको छ।

सम्बन्धित खबर









