Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद छुट पाएपछि टोपबहादुर रायमाझी जेलमुक्त

Advertisement800×200-1

काठमाडौं, २६ कात्तिक। नक्कली भुटानी शरणार्थी प्रकरणमा चार वर्षको कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमा छुट पाएका रायमाझी रिहाइपछि ललितपुरको खुमलटार हाइटस्थित निवास पुगेका छन्। निवासमा उनलाई टीका र माला लगाएर स्वागत गरिएको थियो।

रायमाझीले ज्येष्ठ नागरिकका लागि तोकिएको सुविधा माग गर्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए। ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष पूरा भएका तर ७० वर्ष ननाघेका व्यक्तिले कैद सजायमा २५ प्रतिशतसम्म छुट पाउन सक्छन्। उनका निवेदनपछि अदालतले संशोधित कैदीपुर्जी जारी गरी डिल्लीबजार कारागारलाई रिहाइका लागि पत्र पठाएको थियो।

डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार रायमाझीलाई बिहीबार रिहा गर्न अदालतले पठाएको पत्र तिहारअघि नै कारागार पुगेको थियो। संशोधित कैदीपुर्जीमा उल्लेख भएबमोजिम उनलाई बिहीबार बिहान श्रीमती र परिवारका सदस्यको जिम्मा लगाइएको हो। काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा एकीकृत रूपमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी प्रतिनिधिसभा सदस्य रहेकै बेला २०८० सालमा पक्राउ परेका थिए। अदालतले अहिले उनको कैद अवधि ज्येष्ठ नागरिकसम्बन्धी व्यवस्थाअनुसार संशोधन गरेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने भन्दै रकम उठाइएको प्रकरणमा सरकारी वकिलले २०८० जेठ १० गते रायमाझीसहित ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। अभियोजनमा ठगी, लिखत किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुर लगाउँदै २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ बिगो दाबी गरिएको थियो। जिल्ला अदालतले प्रकरणमा १६ जनालाई दोषी ठहर गर्दै सात जनालाई सफाइ दिएको थियो। पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। फरार रहेका आठ जनाको हकमा अदालतले मुद्दा मुल्तबीमा राखेको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर