Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सन्दीपको ह्याट्रिक र ६ विकेट, विराटनगरले पोखरा एभेन्जर्सलाई पराजित गर्यो

Advertisement800×200-1

काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरका लागि बसिर अहमदले सर्वाधिक ३७ रन बनाए । उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर लोकेश बमले २७ बलमा २ चौका र २ छक्कासहित ३३ रन जोडे । यसअघि टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो । ओपनर युवराज सिंह सम्राले ४७ बलमा ७ चौका र ५ छक्कासहित ८४ रन बनाए । पोखराले ७६ रनमा ५ विकेट गुमाउँदा युवराज र धनञ्जय लक्षणले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए ।

सन्दीपले पोखराको इनिङ्सको १५औँ ओभरमा तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । अघिल्ला पाँच खेलमा एक विकेट लिएका सन्दीपले पोखराविरुद्ध एकै खेलमा ६ विकेट हात पारे । विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले एक–एक विकेट लिए । सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् ।

६ खेलमा तेस्रो जित निकालेको विराटनगर ६ अंकसहित चौथो स्थानमा उक्लिएको छ । प्लेअफ सम्भावना कायम राखेको विराटनगरले लिग चरणको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ । ६ खेलमा पाँचौँ हार बेहोरेको पोखरा २ अंकसहित पुछारमा छ । पोखरा प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर