Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सुदूरपश्चिमले काठमाडौंलाई ७ रनले हरायो, लगातार तेस्रोपटक प्लेअफमा पुग्न सफल

Advertisement800×200-1

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक र अनिल खरेलको कसिलो बलिङमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजलाई ७ रनले हराएको छ । लगातार चौथो जितसँगै सुदूरपश्चिम ७ खेलबाट १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमले पहिलो तीनमध्ये दुई खेल हारेपछि बाँकी चारै खेल जितेको हो । उसले काठमाडौंलाई लगातार तेस्रो सिजनमा हराएको छ । दोस्रो हार बेहोरेको काठमाडौंको ६ खेलबाट ८ अंक छ भने लुम्बिनीको समान खेलबाट ९ अंक छ । लुम्बिनीले अन्तिम खेल जिते ११ अंकसहित सुदूरपश्चिमलाई उछिन्नेछ । काठमाडौंले जिते उसको पनि १० अंक हुनेछ । त्यसैले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने सुदूरपश्चिमको टुंगो बाँकी खेलपछि लाग्नेछ ।

काठमाडौंको लक्ष्य पछ्याउने अभियान पहिलो बलमै धर्मरायो । ओपनर भीम सार्की स्कट कुग्लेनको बलमा खाता नखोली आउट भए भने अर्का ओपनर साम हेजलेट ११ रनमा रनआउट भए । सन्तोषले १९ बलमा १० रन बनाए । सहन अराचिगेले खाता खोल्न सकेनन् भने मोहम्मद आदिल आलम २४ बलमा ८ रन बनाएर आउट भए ।

दुशान हेमन्थाले १८ बलमा एक चौका र एक छक्कासहित २१ रन बनाए । कप्तान करण केसी १२ बलमा ८ रन बनाएर आउट भए । रशिद खानले ३१ बलमा पाँच चौकासहित अविजित ३५ रन बनाए पनि काठमाडौंलाई जिताउन सकेनन् । जहाँन्दद खान ७ रनमा अविजित रहे ।

सुदूरपश्चिमका अनिल खरेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । कुग्लेन, हेमन्त धामी र फाबियन एलेनले एक–एक विकेट लिए ।

त्यसअघि सुदूरपश्चिमले तेस्रो ओभरमै ८ रन जोड्दा चार विकेट गुमाएको थियो । ओपनिङमा आएका कुग्लेनले पहिलो वैध बलमै छक्का हाने पनि चौथो बलमा जहाँन्ददको सिकार बने । दोस्रो ओभरमा सन्तोषले ब्रान्डन म्याकमुलेन र इशान पाण्डेलाई खाता खोल्न दिएनन् । तेस्रो ओभरमा जहाँन्ददले विनोद भण्डारीलाई १ रनमा एलबीडब्लु आउट गरे ।

संकटमा परेको इनिङ्स दीपेन्द्रले सम्हाले । उनले आरिफ शेखसँग पाँचौं विकेटका लागि ५४ रन जोडे । आरिफ २५ बलमा १६ रन बनाएर रनआउट भएपछि दीपेन्द्रले थारिन्दु रत्नायकेसँग छैटौं विकेटका लागि थप ५४ रनको साझेदारी गरे ।

दीपेन्द्र १९औं ओभरमा जहाँन्ददको बलमा आउट भए । उनले ५५ बलमा पाँच चौका र दुई छक्कासहित ६० रन बनाए । रत्नायकेले २३ बलमा तीन चौकासहित अविजित २६ रन जोडे भने एलेन २ रनमा अविजित रहे ।

काठमाडौंका जहाँन्ददले ४ ओभरमा एक मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । सन्तोषले ३ ओभरमा १६ रन दिएर २ विकेट लिए । दीपेन्द्र प्लेयर अफ द म्याच घोषित भए ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर