Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

प्रधानमन्त्रीका सल्लाहकार मुछिएको मोबाइल प्रकरणमा रास्वपाको अडान : ‘निष्पक्ष छानबिन हुन्छ, दोषी कोही छुट्दैन’

Advertisement800×200-1

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले विवादास्पद व्यक्ति इनम सापकोटाको मोबाइल प्रधानमन्त्री बालेन्द्र शाहका मुख्य सल्लाहकार कुमार बेनको घरमा राखिएको भनिएको प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

आइतबार चीन भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका महामन्त्री विपिन आचार्यले सञ्चारमाध्यममा सार्वजनिक भएका सबै विषयमा निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकारहरूले प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनसँग जोडिएको प्रकरणबारे पार्टीको आधिकारिक धारणा मागेपछि महामन्त्री आचार्यले कसैको नाम नलिई सुशासनको सवालमा पार्टीले कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘रास्वपाको उदय नै सुशासनका लागि भएको हुनाले सुशासनको प्रश्नमा कम्प्रोमाइज गर्दैन, पार्टीभित्र या बाहिर । जति पनि कुरा आमसञ्चारमाध्यममा आएका छन्, कहीँकतै कसैको दोष रहेछ भने त्यसको सही निरूपण गर्न प्रधानमन्त्री र रास्वपा सरकार सक्षम छ ।’

महामन्त्री आचार्यले सार्वजनिक भएका विषयमा निष्पक्ष छानबिन हुने र दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने दाबी गर्नुभयो । ‘जति पनि कुरा आएका छन्, निष्पक्ष छानबिन पक्कै हुन्छ । दोषी कोही रहेछ भने न हिजो छुटेको थियो, न आज छुट्छ,’ उहाँले भन्नुभयो ।

यसअघि रास्वपाका प्रवक्ता जगदीश खरेलले पनि प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएर उठेका प्रश्नमा सरकारले आवश्यक कदम चाल्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले केही सोच्नुभएको होला, सरकारले लिने एक्सनमा रास्वपाको समर्थन रहन्छ ।’ साथै, प्रवक्ता खरेलले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको समेत प्रस्ट पार्नुभयो ।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइल अनुसन्धानकै क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको निवासमा लगिएको खबर सार्वजनिक भएपछि विपक्षी दलहरूले समेत यस घटनाको सत्यतथ्य छानबिनको माग गर्दै आएका छन् ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर