
समाचार सारांश राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको उपनेता चयनका लागि इन्दिरा रानामगरको नाममा आन्तरिक छलफल सुरु गरेको छ। रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ भने प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटीको चर्चा छ। संसदीय समितिको सभापति चयनमा अघिल्लो संसदका सांसदहरूलाई प्राथमिकता दिइने र महिला तथा सामाजिक मामिला समितिको सभापति महिला सांसदबाट बनाइने छ। १७ चैत, काठमाडौं। सरकार गठनको प्रक्रिया सम्पन्न गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय फाँटमा जिम्मेवारी दिनुपर्ने व्यक्तिहरूको विषयमा पार्टी भित्र आन्तरिक छलफल सुरु गरेको छ। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा को नियुक्त गर्ने भन्नेमा पार्टी भित्र चर्चा सुरु भएको छ। रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाएर उनी प्रधानमन्त्री बनिसकेका छन्। पार्टी भित्र संसदीय दलको उपनेतामा को रहने भन्ने विषयमा छलफल भइरहेको छ। रास्वपाका शीर्ष तहका एक नेताका अनुसार इन्दिरा रानामगरलाई संसदीय दलको उपनेता बनाउने विषयमा आन्तरिक छलफल भइरहेको छ। यद्यपि, उनको नाममा टुंगो लाग्न बाँकी छ। रानामगरको नाम मन्त्री र सभामुख पदका लागि समेत चर्चामा आएको थियो। मन्त्री बन्नेहरूको नाम टुंगो लागिसकेको र सभामुख पार्टी उपसभापति डीपी अर्याल हुने भएकाले संसदीय दलको उपनेतामा उनलाई लैजान आन्तरिक छलफल गरिएको नेताहरूले बताए। झापा–२ बाट निर्वाचित रानामगर पूर्व उपसभामुख समेत हुन्। अघिल्लो संसदमा उनी समानुपातिक सांसद बनेकी थिइन् र रास्वपाका तर्फबाट उपसभामुख बनेकी थिइन्। रास्वपाका एक शीर्ष नेताले भने, ‘संसदीय दलको उपनेतामा इन्दिरा रानामगरको नाम पार्टी भित्र चर्चा भएको छ।’ अघिल्लोपटक नेता विराजभक्त श्रेष्ठ रास्वपाका संसदीय दलका उपनेता थिए। संसदीय दलको उपनेता संसदीय दलको नेताले नै चयन गर्ने प्रावधान छ। संसदीय दलको उपनेताले दलको नेताको कार्यमा सहयोग गर्ने गरी अधिकार तोकिन्छ। संसदीय दलको उपनेताले दलको बैठकमा नेता अनुपस्थित हुँदा अध्यक्षतापनि गर्न सक्छ। रास्वपाको विधान अनुसार संघीय संसदका पदाधिकारीमा संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र कोषाध्यक्ष एक/एक हुने व्यवस्था छ। कोषाध्यक्ष पद संसदका पदाधिकारीमा विरलै नियुक्त गरिन्छ। अघिल्लो संसदमा जनमत पार्टीले कोषाध्यक्ष राखेको थियो। सरकार गठन भएपछि संसदीय फाँटको जिम्मेवारी दिने व्यक्तिहरूको विषयमा छलफल भइरहेको छ। विश्वसनीय स्रोतका अनुसार उपसभापति डीपी अर्याल सभामुख बन्ने निश्चित जस्तै छ। रास्वपाका संस्थापक उपसभापति रहेका अर्यालले विगतमा कार्यवाहक सभापतिको भूमिकासमेत निभाइसकेका छन्। पूर्व श्रममन्त्री रहेका अर्याल अघिल्लो संसदमा समानुपातिक सांसद थिए। यस पटक उनी काठमाडौं–९ बाट निर्वाचित भएका छन्। प्रमुख सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटीको चर्चा छ। रास्वपाका संस्थापक सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अघिल्लो पटक हराएको क्षेत्र गोरखा–२ बाट यस पटक जित निकालेका छन्। पार्टी स्रोतका अनुसार सचेतकमा निशा डाँगी हुने सम्भावना बढी छ। अघिल्लो संसदमा समानुपातिक सांसद रहेकी उनी पूर्वाधार विकास समितिको सदस्य थिइन्। डाँगी झापा–१ बाट निर्वाचित भएकी हुन्। संसदीय समितिको सभापति चयनको विषयमा पनि रास्वपामा छलफल चलिरहेको छ। प्रतिनिधि सभामा १० वटा संसदीय समिति छन्। संसदको नियमावली निर्माणको क्रममा संसदीय समितिहरू कम-बढ हुन सक्नेछन्। रास्वपा संसदमा दुई तिहाइ निकट भएकाले उक्त दलले चाहे अनुसार समितिको संख्या घटबढ गर्न सक्ने स्थिति छ। लेखा समितिको सभापति विपक्षी दलबाट बनाउने प्रचलन छ। अघिल्लो संसदमा एमाले सत्तामा रहँदा पनि विपक्षीलाई लेखा समितिको सभापतिको पद दिन अस्वीकार गरेको थियो। रास्वपाका एक नेताका अनुसार अघिल्लो संसदमा रहेका सांसदहरूलाई संसदीय समितिको सभापति बनाउन प्राथमिकता दिइने छ। उनका अनुसार मनिष झा, गणेश पराजुली, हरि ढकाल लगायतको नाम सभापति बन्नेमा पक्का छ। यी तीनै जना पार्टी सचिवालय सदस्य पनि हुन्। झा पार्टी प्रवक्ता पनि हुन्। महिला तथा सामाजिक मामिला समितिको सभापति पनि महिला सांसदबाट नै बनाउने जानकारी ती नेताले दिएका छन्। रास्वपाका सांसदहरूलाई आफूले काम गर्न इच्छुक समितिहरूमा जान अनुरोध गरिएको छ। विषयगत ज्ञान र इच्छालाई ध्यानमा राखेर जानकारी दिन भनिएको छ।






