Skip to main content

अमृत झा: इरानमा पक्राउ परेका नेपालीलाई भेटे वकिल, रिहाइका लागि नेपाल सरकारको पहल

काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सकुशल रहेको र उनले वकिलसँग भेट गरेका छन् भनी जानकारी दिएको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावको बीच करिब दुई हप्ता अघि परराष्ट्र मन्त्रालयले उदयपुरका ३३ वर्षीय अमृत झा इरानमा पक्राउ परेकाे पुष्टि गरेको थियो। तर परराष्ट्र मन्त्रालयले बीबीसी न्यूज नेपालीलाई बताएका अनुसार उनलाई इरानी सुरक्षाकर्मीले युद्ध सुरु हुनु अघि नै नियन्त्रणमा लिएको हो। झा संयुक्त अरब इमिरेट्समा आधारित ब्ल्याक सी मरीन एलएलसी नामक कम्पनीमा कार्यरत पानीजहाज चालक दलका सदस्य हुन। उनको परिवारले दिएको जानकारीअनुसार झालाई इरानको रिभोलुसनरी गार्ड कोरले ‘स्ट्रेट अफ होर्मुज’को नजिकबाट नियन्त्रणमा लिएको थियो। परिवारका अनुसार अमेरिकाले र इजरायलेले इरानमाथि आक्रमण गर्नुअघि झा तेल लिन दुबईबाट इरानतर्फ गएका थिए। बीबीसीले झा सम्बन्धी जानकारीका लागि रोजगारदात कम्पनीलाई इमेलमार्फत सोधपुछ गरेको छ, तर अहिलेसम्म जवाफ आएको छैन।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले भने, “मैले केही दिनअघि परराष्ट्र मन्त्रालयमा फोन गरेको थिएँ जहाँबाट मन्त्रीस्तरबाट पहल भइरहेको जानकारी प्राप्त भयो। हामी ठोस परिणामको प्रतिक्षा गरिरहेका छौँ।” “दुबईबाट पानीजहाज चलाएर उनीहरू पुगेका रहेछन्। (अमृतको) परिवारका अनुसार त्यहाँ ६-७ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्येका एकजनाले पठाएको सन्देश उनको परिवारले थाहा पाएपछि हामीलाई जानकारी गराएका थिए। त्यसपछि मैले मन्त्रालयलाई तुरुन्त रिहाइका लागि अनुरोध पत्र पठाएको थिएँ।” बस्नेतका अनुसार झा १२ वर्षदेखि पानीजहाज कम्पनीमा कार्यरत छन् र दुई वर्षअघि क्याप्टेन बनेको परिवारले बताएको छ।
अमृतका बुवा गोविन्द र आमा प्रभावती झा उदयपुरको गाईघाटमा किराना पसल सञ्चालन गर्छन्। आमा प्रभावतीका अनुसार अमृतले उदयपुरमै विद्यालय शिक्षा पूरा गरेका र पछि काठमाडौँमा १२ कक्षा सम्म अध्ययन गरेका हुन्। त्यसपछि थाइल्याण्ड गएर ‘नेभी’ अध्ययन गरी मालवाहक पानीजहाजमा काम गर्न थालेका थिए। गाईघाटबाट फोनमा कुरा गर्दै प्रभावतीले भनिन्, “हामीलाई उसको अवस्था सम्बन्धमा जानकारी छैन। छिट्टै मेरो छोरा घर फर्कियोस्। यही हाम्रो चाहना हो। हामीले पहल पनि गरिरहेका छौँ तर अहिलेसम्म केही नपाएको अवस्था छ।” उनले थपिन्, “म इरान सरकारलाई भन्न चाहन्छु, मेरो छोरा अपराधी होइन। उसले कुनै अपराध गरेजस्तो मलाई लाग्दैन। त्यहाँ स्थिति सामान्य भएपछि छिटो हाम्रो छोरालाई फर्काइदिनुस्। हामी यहीं अनुरोध गर्छौं।” उनले दाबी गरिन्, उनकाे छोरा दशकौंदेखि पानीजहाज कम्पनीमा नियमित काम गर्दै आएका छन् र प्रायः ९ देखि ९ महिनामा छुट्टी पाउने गरेको सुनाइन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बीबीसीसँग कुरा गर्दै बताए, झाको मुद्दा अहिले इरानको अदालतमा विचाराधीन छ र उनी वकिलसँग भेटिसकेका छन्। “अमृत झा पक्राउ पर्ने विषय युद्धसँग सम्बन्धित होइन, यो घटना युद्ध सुरु हुनु अगाडि हुनुभएको हो। हामीले कन्सुलर सेवा पहुँचका लागि प्रयास गरिरहेका थियौँ, जुन सफल भई गत हप्ता एक वकिलले भेट गरेका छन्। भेटमा उनी सकुशल देखिएका छन्।” उनीसहित पक्राउ परेका अन्य भारतीय नागरिकहरू पनि सकुशल रहेका अधिकारीहरूले बताएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार इरानस्थित नेपाली कन्सुलर जेनरलको समन्वयमा एक कानुन व्यवसायीले झालाई हिरासतमा राखिएको स्थानमा भेटेका थिए। तर इरानमा जारी युद्ध र अन्य कारणले ढिलाइ हुँदा झासँग सम्बन्धित मुद्दा कानुनी प्रक्रिया पुरा हुन समय लागिरहेको अधिकारीहरूले बताए। क्षेत्रीले भने, “शायद युद्ध नभएको भए यो मुद्दा छिटो समाधान हुने थियो।” उनका अनुसार नववर्षका कारण कर्मचारी र अदालत छुट्टीमा हुँदा मुद्दा सुनुवाइमा ढिलाइ भएको हो। युद्धले गैरसैनिक र यातायात पूर्वाधारमा क्षति पुर्‍याएको कारण पनि हिँडडुलमा समस्या आएकोले सबैको मुद्दा सुनुवाइमा ढिलाइ भएको छ। “नेपाल सरकारले यो विषयलाई निकटबाट ढोगिरहेको र झाको रिहाइका लागि आवश्यक पहल निरन्तर राख्ने जनाएको छ।