
नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले पार्टीका शुभचिन्तक र युवा सदस्यहरूलाई हतोत्साहित नहुन आग्रह गर्नुभएको छ। नेम्वाङले संसदीय दलको नेताको दाबी गर्नुभएको थियो तर अन्तिम समयमा समर्थकको साथ नपाउँदा उहाँले निराश नहुन अनुरोध गर्नुभएको हो। उहाँले एमालेलाई अझ सशक्त बनाउँदै देशलाई समृद्धितर्फ लैजान विश्वास व्यक्त गर्नुभयो।
१८ चैत, काठमाडौं। नेम्वाङले भन्नुभयो, ‘एमालेमा देखिएका साना कमजोरीहरू सुधार्दै हिजो जे भयो त्यसमा आत्मसमिक्षा गर्दै, हामी अहिले कहाँ उभिएका छौं र भविष्यमा नेकपा एमाले अझ सुदृढ भएर अगाडि बढ्ने विश्वासका साथ मैले एउटा पाइला मारेको छु।’ उहाँले थप्नुभयो, ‘त्यो पाइला अघि बढाउँदा कहिले कहिँ अपेक्षित नतिजा नआउन सक्छ। तर त्यसका कारण आफूहरू हतोत्साहित हुनु हुँदैन। एमालेका शुभेच्छुक र युवा पुस्ता पनि निराश हुनु हुँदैन।’
नेम्वाङले आगामी दिनहरूमा थप कदम चाल्ने विश्वास पनि व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘एमालेले देशलाई समृद्धितर्फ लैजानेछ। संयमित र सभ्य तरिकाले देश र जनताको हितमा आवाज उठाइरहनेछ। मैले यो एउटा मात्र पाइला मारेको छु, अब मात्र अघि बढ्नेछु।’






